वीरगंज - भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले वीरगंजमा ‘एडभान्सिङ मल्टिडिसिप्लिनरी अन्कोलोजी सर्भिसेज इन नेपाल’ विषयक विशेष अन्तरक्रिया तथा कन्टिन्युइङ मेडिकल एजुकेसन (सिएमई) कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा क्यान्सरको उपचार कुनै एक विधाले मात्र नभई क्लिनिकल, सर्जिकल र रेडियसन अन्कोलोजीको सामूहिक प्रयास (मल्टिडिसिप्लिनरी एप्रोच) बाट मात्र प्रभावकारी हुने सन्देश दिइएको थियो। विशेषज्ञहरूले 'ट्युमर बोर्ड' मार्फत बिरामीको अवस्थाको गम्भीर समीक्षा गरी कसरी सर्वोत्तम उपचार योजना तय गरिन्छ भन्नेबारे आफ्ना अनुभव र अभ्यासहरू साझा गरेका थिए।
कार्यक्रमकै अवसरमा उपचार सेवालाई थप सहज बनाउन काठमाडौं क्यान्सर सेन्टर र गण्डक अस्पताल प्रालिबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सम्झौतापछि वीरगंज र आसपासका क्यान्सर बिरामीहरूले दुई संस्थाको समन्वयमा थप प्रभावकारी र सहज उपचार सेवा पाउने सेन्टरकी प्रशासन प्रमुख वर्षा कोइरालाले जानकारी दिइन्।
सेन्टरका अध्यक्ष एवं कन्सल्टेन्ट क्लिनिकल अन्कोलोजिस्ट डा. सिमित सापकोटाले नेपालमा क्यान्सरको भार तीव्र गतिमा बढिरहेको प्रति चिन्ता व्यक्त गरे। उनले सरकारले उपचारसँगै 'प्रिभेन्सन' (रोकथाम) मा विशेष लगानी र नीति बनाउनुपर्नेमा जोड दिए।
त्यस्तै, एकेडेमिक डाइरेक्टर एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुवास पण्डितले क्यान्सरको शंका लाग्ने बित्तिकै विशेषज्ञको परामर्श लिन ढिलाइ गर्न नहुने सुझाव दिए। शरीरका विभिन्न अंगमा हुने क्यान्सरका लागि सेन्टरमा उपलब्ध विशिष्टीकृत उपचार विधि र प्रविधिबारे उनले प्रस्ट्याएका थिए।