काठमाडौं — ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले अस्पताल निर्माण नगरेको विरोधमा मतदान बहिष्कार गरेका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार बिहान १० बजेसम्म पनि उक्त वडामा कुनै मतदाता मतदान गर्न केन्द्रमा पुगेका छैनन्। प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीका अनुसार अहिले सम्म एकजनाले पनि मत खसालेका छैनन्।
मानेभञ्ज्याङ–७ स्थित शहीद स्मृति आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएको छ। सो केन्द्रमा ७०१ जना मतदाता रहेको प्रशासनले जनाएको छ।
“अहिलेसम्म कोही पनि मतदाता मतदान केन्द्रमा आउनुभएको छैन, कसैले पनि मत खसाल्नुभएको छैन,” प्रमुख जिल्ला अधिकारी मंग्रान्तीले जानकारी दिए।