काठमाडौं - फोक्सोको क्यान्सरको ९० प्रतिशत कारक धूम्रपान भएको चिकित्सकहरु बताउँछन्।
वीर अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा अशेष ढुङ्गानाका अनुसार सूर्तीजन्य पदार्थको सेवनले श्वासप्रश्वासमा असर पर्ने भएकाले फोक्सोमा क्यान्सर हुने सम्भावना अत्याधिक रहन्छ।
उनका अनुसार ९० प्रतिशत मानिसलाई फोक्सो क्यान्सर धूम्रपानका कारण हुने गर्छ। यति मात्रै नभएर उच्च रक्तचाप भएर मुटुसम्बन्धी दीर्घरोग समेत गराउँछ।
उनका अनुसार सुर्तीजन्य पदार्थको प्रयोगको कारण दमको समस्या, मुख तथा घाँटी, स्वासनलीको क्यान्सर, रक्तनली बिगार्ने, पाठेघर तथा रगत क्यान्सर हुनसक्छ। यससँगै मस्तिष्कमा समेत गम्भिर असर पर्नसक्छ। गर्भवतीले प्रयोग गरेमा कम तौल भएका बच्चा जन्मिने, समय नपुग्दै बच्चाको जन्म हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा असर गर्ने तथा गर्भ खेर जाने लगायतका समस्या निम्तिन सक्छ।
प्रत्येक वर्ष २८ हजार १ सय १० जना व्यक्तिको मृत्यु
विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा बार्षिक ३९ हजार २०० व्यक्तिको ज्यान जाने गरेको छ । यो सङ्ख्या नेपालको कुल मृत्युको लगभग ११ प्रतिशत हुन आउँछ। डब्लुएचओले यो तथ्यांकलाई भयावह भन्दै न्युनिकरणको उपायहरु चालिहाल्न भनेको छ ।
सुर्तीजन्य पदार्थको सेवनले विभिन्न किसिमका नसर्ने रोगहरू फोक्सोको क्यान्सर, श्वासप्रश्वास, मुख, ओठ, अन्ननली, घाँटी, मिर्गौला लगायतका २० भन्दा धेरै क्यान्सर बनाउने चिकित्सकहरुले बताउँदै आएका छन्।
सूर्तीजन्य पदार्थले चौतर्फी समस्या निम्त्याएकोले स्वास्थ्य कर कोष सचिवालयका सदस्य सचिव गोपिकृष्ण रेग्मी बताउँछन्।यसलाई राज्यले गम्भीरतापूर्वक हेरी यस्ता पदार्थमा लाग्ने कर बढाउनुपर्ने उनको धारणा छ ।
नेपाल लगायत दक्षिण एसियाली मुलुकमा सुर्तीजन्य पदार्थको सेवनकर्ता बढ्दै जाँदा मुखको क्यान्सरका बिरामीहरु बढ्दै गएको क्यान्सर रोग विशेषज्ञ डा वाईपी सिंह बताउँछन्। निष्क्रिय सेवनकर्ता अर्थात् सुर्तीजन्य पदार्थको प्रयोग नगरेपनि उनीहरुको नजिकमा बस्ने व्यक्तिमा समेत क्यान्सर जोखिम बढ्ने डा सिंह बताउँछन्।