मिर्गौला सम्बन्धी रोगलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ। जसमा मेडिकल कारण तथा सर्जिकल कारण पर्छन्। धेरैजसो मिर्गौला रोगको कारण सर्जिकल समस्या हुन सक्छ। अन्य कुनै रोगका कारण मिर्गौलामा असर परेमा त्यसलाई मेडिकल कारण भनिन्छ।
यदि कसैलाई सुगर, उच्च रक्तचाप, कोलेस्ट्रोल जस्ता रोगका कारण मिर्गौलामा असर परेको छ भने त्यसलाई मिर्गौला रोगको मेडिकल कारण मानिन्छ। मेडिकल समस्याका कारण मिर्गौलामा आएको समस्या हटाउन सकेमा मिर्गौलाले पुनः सामान्य रूपमा काम गर्न थाल्छ।
समस्या बढ्नुका कारण
पछिल्लो समय मिर्गौला सम्बन्धी समस्या बढ्दै जानुको प्रमुख कारण जीवनशैलीमा आएको व्यापक परिवर्तन हो। युवावस्थामै सुगर, प्रेसर, थाइराइड, कोलेस्ट्रोल जस्ता समस्या देखिन थालेकाले मिर्गौला सम्बन्धी समस्या पनि दिनप्रतिदिन बढ्दै गएको छ।
त्यस्तै विभिन्न प्रकारका इन्फेक्सनका कारण पनि मिर्गौला सम्बन्धी रोग बढ्दै गएको पाइन्छ। मिर्गौलामा स्टोन देखिनु तथा क्यान्सर हुनु पनि समस्याको अर्को कारण हो।
पानीको अपर्याप्त सेवन, असन्तुलित खानपान शैली, बारम्बार इन्फेक्सन हुनु, मिर्गौलामा ढुंगा बन्नु तथा समयमै उपचार नहुनु जस्ता कारणले पनि मिर्गौला सम्बन्धी समस्या पछिल्लो समय बढ्दै गएको छ।
मिर्गौला रोग र खानपान शैली
पिसाबमा प्रोटिनको मात्रा देखिएको छ वा छैन भन्ने आधारमा खानपानमा परिवर्तन गर्नुपर्ने वा नपर्ने निर्धारण गरिन्छ। यदि स्टोनका कारण मिर्गौला रोग भएको छ भने त्यसअनुसारको खानपान शैली अपनाउनुपर्छ।
मिर्गौलालाई स्वस्थ राख्न दैनिक ३ देखि ४ लिटर पानी पिउनुपर्छ। खानामा नुनको मात्रा सकेसम्म कम गर्ने, रातो मासु तथा गेडागुडी आवश्यकताअनुसार खाने र दैनिक शारीरिक व्यायाम गर्ने बानीले मेडिकल तथा सर्जिकल कारणबाट हुन सक्ने मिर्गौला रोगबाट जोगिन सकिन्छ।
युवावस्थामै मिर्गौला फेलको समस्या
युवावस्थामै मिर्गौला फेल हुनुको प्रमुख कारण उच्च रक्तचाप हो। समयमै उच्च रक्तचापको उपचार हुन नसक्दा युवावस्थामै मिर्गौला फेल हुने समस्या बढ्दै गएको छ।
नियमित रूपमा उच्च रक्तचापको परीक्षण नगर्दा र त्यसको रोकथाम गर्न नसक्दा मिर्गौला फेलसम्मको समस्या आउन सक्छ। त्यस्तै युवावस्थामै मिर्गौला फेल हुनुको अर्को कारण सुगर पनि हो। उच्च रक्तचाप र सुगरलाई समयमै पत्ता लगाई नियन्त्रण गर्न सके यस्तो समस्याबाट जोगिन सकिन्छ।
मिर्गौला रोगीलाई सहज उपचार कसरी ?
मिर्गौला रोगका लागि सरकारले १ लाख रुपैयाँ बराबरको उपचार सहुलियत प्रदान गर्दै आएको छ। डायलासिस सेवा पनि निःशुल्क उपलब्ध गराइँदै आएको छ।
यद्यपि, दीर्घकालीन उपचार आवश्यक पर्ने बिरामीका लागि यो पर्याप्त छैन। मिर्गौला प्रत्यारोपण सेवाका लागि सरकारले ४ लाख रुपैयाँ बराबरको सहुलियत दिँदै आएको छ।
तर प्रत्यारोपणका लागि यो रकम पर्याप्त हुँदैन। सरकारी अस्पतालमा उपचार गराउने बिरामीले केही थप रकम तिरेर सेवा लिन सके पनि निजी अस्पतालमा उपचार गराउनेहरूका लागि यो निकै अपुग हुन्छ।
निजी अस्पतालमा प्रत्यारोपण गराउन कम्तीमा १५ देखि २० लाख रुपैयाँसम्म खर्च हुन सक्छ। नेपाल सरकारले दिने सहुलियत निजी अस्पतालमा उपचार गराउने बिरामीले पाउन सक्दैनन्।
प्रत्यारोपणपछि बिरामीले खाने औषधिको लागत मात्रै मासिक २५–३० हजार रुपैयाँसम्म पर्छ। त्यसैले सरकारी अस्पतालमा उपचार गराउने बिरामीका लागि पनि सरकारले उपलब्ध गराउँदै आएको सहुलियत पर्याप्त देखिँदैन।
मिर्गौलामा समस्या आउनबाट कसरी जोगिने ?
मिर्गौला रोगबाट जोगिन कम्तीमा वर्षमा एक पटक मिर्गौला परीक्षण गराउनु आवश्यक छ।
त्यस्तै मिर्गौला रोगका मुख्य कारकहरू जस्तै सुगर, प्रेसर, डायबिटिज आदिको उपचार समयमै गर्नुपर्छ। खानामा नुनको मात्रा सकेसम्म कम गर्ने, पर्याप्त पानी पिउने, नियमित शारीरिक व्यायाम गर्ने जस्ता बानीले मिर्गौलामा समस्या आउनबाट जोगिन सकिन्छ।
(मिर्गौला प्रत्यारोपण सर्जन तथा यूरोलोजिस्ट डा. अन्सारी जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा कार्यरत छन्।)