काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले औषधि क्षेत्रमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने स्पष्ट सरकारी नीति आवश्यक रहेको बताएका छन्। नेपाल औषधि उत्पादक संघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले देशभित्र उत्पादन हुन सक्ने औषधिहरूलाई प्राथमिकता दिने नीति सरकारले प्रभावकारी रूपमा लागू गर्नुपर्ने बताए।
ढकालले औषधि उद्योगले देशको स्वास्थ्य सेवा र अर्थतन्त्र दुवैमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे। यस क्षेत्रमा संलग्न व्यवसायीहरूको योगदान प्रशंसनीय रहेको बताउँदै उनले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा जोड दिए।
उनका अनुसार औषधि उद्योगले विगत लामो समयदेखि चुनौतीका बीच काम गर्दै आएको छ। 'करिब १८ वर्षदेखि धेरै औषधिको मूल्य लगभग उही स्तरमा रहेको छ, तर उत्पादन लागत भने उल्लेखनीय रूपमा बढेको छ,' उनले भने, 'यस्तो अवस्थामा पनि उद्योग सञ्चालन भइरहनु आफैंमा चुनौतीपूर्ण कुरा हो।'
ढकालले अहिले पनि नेपालमा उत्पादन गर्न सकिने धेरै औषधिहरू आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै घरेलु उद्योगलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताए। सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिए औषधि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सकिने उनको भनाइ थियो।
उनले निजी क्षेत्रप्रति समाजमा रहेको ‘नाफामुखी मात्र’ भन्ने धारणा वास्तविकतासँग मेल नखाने पनि बताए। निजी क्षेत्रले दिएका धेरै सुझाव समयमै कार्यान्वयन भएको भए अहिले देखिएका केही आर्थिक समस्या कम हुन सक्ने उनको भनाइ थियो।
कोभिडपछि विदेशी मुद्रा अभाव हुँदा सरकारले आयात नियन्त्रणको नीति अपनाएको प्रसंग उल्लेख गर्दै ढकालले त्यसको प्रभावकारिता अपेक्षित रूपमा देखिन नसकेको बताए। गाडी तथा मोटरसाइकल जस्ता केही वस्तुमा मात्र नियन्त्रण गरिएको तर अन्य क्षेत्रमा प्रभावकारी रूपमा लागू हुन नसक्दा राजस्वमा असर परेको र औपचारिक व्यवसायहरू अनौपचारिकतर्फ जान प्रेरित भएको उनले बताए।
ढकालले नेपाल औषधि उत्पादक संघले सरकारलाई दिने सुझावहरू केवल व्यवसायीहरूको हितका लागि मात्र नभई समग्र क्षेत्र र देशकै हितका लागि हुने बताए। त्यसैले त्यस्ता सुझावहरूलाई सरकारले सकारात्मक रूपमा लिएर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।
हालै बनेको नयाँ सरकारप्रति निजी क्षेत्र आशावादी रहेको उल्लेख गर्दै उनले स्थिर सरकार र स्थिर नीतिको आवश्यकता दोहोर्याए। बलियो सरकार भएको अवस्थामा लगानीमैत्री नीति लागू गरेर आर्थिक गतिविधिलाई गति दिन सकिने उनको विश्वास छ।
'यदि निजी क्षेत्रमैत्री नीति प्रभावकारी रूपमा कार्यान्वयन भयो भने छोटो समयमै आर्थिक गतिविधि बढाउन, रोजगारी सिर्जना गर्न र राजस्व वृद्धि गर्न सकिन्छ,' उनले भने।
कार्यक्रममा बोल्दै ढकालले नीति निर्माण गर्दा स्थिरता, लगानीमैत्री वातावरण र स्पष्ट कानुनी व्यवस्था सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिए।