कटक (भारत)- भारतको ओडिशा राज्यस्थित कटकमा रहेको प्रतिष्ठित एससीबी मेडिकल कलेज तथा अस्पतालमा सोमबार बिहान भीषण आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको छ। अस्पतालको ट्रमा केयर सेन्टरस्थित सघन उपचार कक्ष (आईसीयू) मा लागेको आगोका कारण उपचाररत बिरामीहरूले ज्यान गुमाएका हुन्।
सोमबार बिहान २:३० देखि ३:०० बजेको बीचमा अचानक 'सर्ट सर्किट' भएर आगलागी सुरु भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागी हुँदा उक्त आईसीयूमा २३ जना गम्भीर बिरामीहरू भर्ना थिए। आगोको लप्काबीच बिरामीहरूलाई उद्धार गर्ने क्रममा ११ जना अस्पतालका कर्मचारी समेत घाइते भएका छन्।
ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीका अनुसार आगलागीपछि बिरामीहरूलाई अन्य विभागमा स्थानान्तरण गर्ने क्रममा ७ जनाको र थप ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो। 'हामीले २३ जनालाई सुरक्षित बाहिर निकाल्ने प्रयास गरेका थियौँ, तर गम्भीर अवस्थामा रहेका १० जनालाई बचाउन सकेनौँ,' मुख्यमन्त्री माझीले सञ्चारकर्मीहरूसँग भने।
घटनालगत्तै मुख्यमन्त्री माझी र स्वास्थ्य मन्त्री मुकेश महालिङले अस्पताल पुगेर अवस्थाको निरीक्षण गरेका थिए।
मुख्यमन्त्रीले मृतकका परिवारलाई प्रतिपरिवार २५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेका छन्। साथै, घाइतेहरूको उचित र निःशुल्क उपचार सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिइएको छ।
न्यायिक छानबिन
अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भएको यो दुर्घटनालाई सरकारले गम्भीरतापूर्वक लिँदै न्यायिक जाँचको आदेश दिएको छ। मुख्यमन्त्री माझीले घटनामा कसैको लापरबाही देखिएमा दोषीलाई कडा कानुनी कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।
यो घटनासँगै अस्पतालको सुरक्षा व्यवस्था र अग्नि नियन्त्रण प्रणालीका बारेमा समेत प्रश्न उठ्न थालेको छ।