काठमाडौँ- नेपाल चिकित्सक संघको स्थगित निर्वाचन चैत महिना भित्रै सम्पन्न गर्ने प्रस्ताव अघि सारिएको छ। संघको निर्वाचन समितिले बुधबार उम्मेदवार र उनीहरुका प्रतिनिधि तथा संघका पूर्व पदाधिकारीसँग छलफल गर्दै मिति समेत प्रस्ताव गरेको छ।
बैठकमा उपत्यका बाहिर चैतको २० र २१ गते तथा काठमाडौँ उपत्यका भित्र २८, २९ र ३० चैतमा निर्वाचन गर्ने प्रस्ताव गरिएको छ। उक्त प्रस्तावमाथि छलफल भएपनि निष्कर्ष भने ननिस्किएको बताइएको छ। शुक्रबार औपचारिक रुपमा मिति सार्वजनिक गर्ने तयारी समितिले गरेको छ।
धेरै उम्मेदवारहरुले चैत महिना भित्रै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी एकले बताए। बुधबारको बैठकमा टिम मंगलबाट डा मंगल रावलसंगै प्रतिनिधिहरु, टीम बद्रीबाट डा बद्री रिजालसहित उनका टिम, टिम रिफर्मबाट डा अमृत भुसाल सहितको टीमका साथै चिकित्सक संघका प्रतिनिधिहरुको सहभागिता थियो ।