काठमाडौं - काठमाडौं मेडिकल कलेजमा झापा बिर्तामोड निवासी ७२ वर्षीया एक महिलाको दुर्लभ र जटिल प्रकारको जायन्ट ब्रेन एन्युरिज्मको सफलतापूर्वक शल्यक्रिया भएको छ।
न्यूरोइन्टरभेन्सन विशेषज्ञ डा अरुण पौडेलको नेतृत्वमा चिकित्सकको टोलीले २.५ सेन्टिमिटरभन्दा ठूलो जायन्ट ब्रेन एन्युरिज्मको शल्यक्रिया गरेको हो।
उपचारमा संलग्न डा पौडेलका अनुसार बिरामीको मस्तिष्कको रक्तनलीमा अत्यन्त ठूलो आकारको एन्युरिज्म देखिएको थियो। यसको आकार २.५ सेन्टिमिटरभन्दा बढी भएकाले यसलाई जायन्ट एन्युरिज्म मानिएको तथा यो निकै दुर्लभ र उच्च जोखिमयुक्त अवस्था भएको उनी बताउँछन्।
उक्त केसमा खुला शल्यक्रिया सम्भव नभएकाले बिरामीका लागि आधुनिक न्यूरोइन्टरभेन्सन विधीको प्रयोग गरिएको डा पौडेल बताउँछन्। उपचारमा क्वायलिङ तथा अत्याधुनिक फ्लो डाइभर्टर प्रविधिको प्रयोग गरिएको थियो। फ्लो डाइभर्टर प्रविधि पछिल्लो समय मस्तिष्कका ठूला तथा जटिल एन्युरिज्मको उपचारका लागि सबैभन्दा आधुनिक र प्रभावकारी प्रविधि मानिने डा पौडेल बताउँछन्। उपचारपछि ७२ वर्षीया बिरामीको अवस्था हाल स्थिर रहेको तथा स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको डा पौडेल बताउँछन्।
यो विधीद्वारा कसरी शल्यक्रिया गरिन्छ ?
यस प्रविधिमा रक्तनलीभित्र विशेष प्रकारको स्टेन्ट जडान गरी रक्तप्रवाहलाई एन्युरिज्मबाट टाढा मोडिन्छ। यसले गर्दा एन्युरिज्मभित्रको रक्तप्रवाह क्रमशः कम हुँदै जान्छ र समयसँगै एन्युरिज्म सुरक्षित रूपमा बन्द हुने सम्भावना बढ्छ।परम्परागत उपचारबाट पूर्ण रूपमा नियन्त्रण गर्न गाह्रो हुने केसहरूमा यो प्रविधि प्रभावकारी मानिन्छ।
फ्लो डाइभर्टरले कसरी काम गर्छ ?
फ्लो डाइभर्टर प्रविधिले एन्युरिज्म उपचारमा सकारात्मक परिवर्तन ल्याएको छ। यसको मुख्य कार्यप्रणाली यस प्रकार छ:
- रक्तप्रवाह मोड्ने प्रक्रिया
एन्युरिज्मको मुखमा उच्च घनत्व भएको विशेष प्रकारको स्टेन्ट राखिन्छ, जसले एन्युरिज्मभित्र जाने रक्तप्रवाहलाई धेरै कम गर्छ। जसकारण रगत जम्दै जान्छ र एन्युरिज्म क्रमशः बन्द हुँदै जान्छ।
- रक्तनलीको पुनःनिर्माण
फ्लो डाइभर्टरको जालीदार संरचनाले नयाँ एन्डोथेलियल कोषहरू बढ्न सहयोग गर्छ। जसले एन्युरिज्मको मुख प्राकृतिक रूपमा बन्द हुने तथा मूल रक्तनली पुनःनिर्माण हुन्छ।
- एन्युरिज्मको भित्तामा पर्ने दबाब कम गर्नु
रक्तप्रवाहको तीव्रता कम भएपछि एन्युरिज्मको भित्तामा पर्ने दबाब घट्छ। जसले फुट्ने जोखिम कम हुँदैं एन्युरिज्म क्रमशः थ्रोम्बोसिस हुँदै जान्छ।
- शाखा रक्तनलीहरूको सुरक्षा
फ्लो डाइभर्टरको जालीदार बनावटले गर्दा साना शाखा रक्तनलीहरूमा सामान्य रक्तप्रवाह कायम रहन्छ। यसले महत्वपूर्ण शाखा रक्तनलीहरू सुरक्षित रहन्छन्।
फ्लो डाइभर्टर उपचारका प्रमुख फाइदाहरू
-मूल रक्तनली पुनःनिर्माण गर्ने क्षमता,
-ठूला, विशाल तथा चौडा मुख भएका एन्युरिज्ममा अत्यन्त प्रभावकारी,
-फ्युजिफर्म तथा जटिल एन्युरिज्ममा उपयोगी,
-दीर्घकालीन रूपमा एन्युरिज्म पूर्ण बन्द हुने दर उच्च,
-पुनः देखिने सम्भावना कम,
-एउटै रक्तनलीमा भएका धेरै एन्युरिज्मलाई एकै उपकरणले उपचार गर्न सकिने,
-एन्युरिज्मभित्र क्याथेटर हाल्न नपर्ने अवस्थामा फुट्ने जोखिम कम,