काठमाडौं - काठमाडौं महानगरपालिका र नेपाल आँखा अस्पतालबीच सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको निःशुल्क आँखा स्क्रिनिङ तथा प्रारम्भिक उपचार गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं महानगरपालिका प्रमुख सुनिता डंगोल, स्वास्थ्य विभाग प्रमुख दिपक कुमार के.सी र नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिृकत धर्मराज गोसाईले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
जसमा काठमाडौं महानगरपालिकाले कार्यक्रम सञ्चालनका लागि अधिकतम ३० लाख आर्थिक सहयोग उपलब्ध गराउने सम्झौता भएको छ।
नेपाल आँखा अस्पतालले तोकिएका कम्तीमा ३० वटा सामुदायिक विद्यालयमा करिब २०,००० विद्यार्थीहरूको विशेषज्ञ चिकित्सकमार्फत आँखा परीक्षण तथा प्रारम्भिक उपचार सेवा प्रदान गर्ने तथा विद्यार्थीहरूको निःशुल्क आँखा स्क्रिनिङ तथा प्रारम्भिक उपचार गर्ने सम्झौतामा उल्लेख छ।
यसले विद्यालयस्तरमै दृष्टिको समस्या पहिचान गरी समयमै उपचार उपलब्ध गराउन सहयोग पुर्याउने सक्ने विश्वास लिइएको छ।
काठमाडौं महानगरपालिकाको तर्फबाट प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं तथा स्वास्थ्य विभागका अधिकारीहरू र नेपाल आँखा अस्पतालको तर्फबाट कोषाध्यक्ष अनिल गोर्खाली, कार्यसमिति सदस्य केदार कार्की, प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाई,आउटरीच संयोजक राम बहादुर के .सी तथा आईटी अधिकृत कर्ण देसारको उपस्थिति सम्झौता कार्यक्रम सम्पन्न भएको हो।