काठमाडौं- मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले विशेष कार्यविधि स्वीकृत गर्ने प्रक्रिया अघि बढाएको छ। चिकित्सा शिक्षा आयोगको तेइसौं बैठकले यस विषयमा निर्णायक छलफल गर्ने भएको छ।
प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बस्ने उक्त बैठक शुक्रबार १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा गरिने तय गरिएको छ।
बैठकमा “उत्प्रेरणा छात्रवृत्ति सम्बन्धी कार्यविधि, २०८२” स्वीकृत गर्ने मुख्य कार्यसूची रहेको छ। यस कार्यविधि अन्तर्गत मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई एमबीबीएस कार्यक्रम अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरिनेछ।
चिकित्सा शिक्षा आयोगका सदस्य-सचिव बसन्त प्रसाद कोइरालाका अनुसार, कार्यविधि स्वीकृत भएपछि लक्षित समुदायका विद्यार्थीलाई व्यवस्थित र प्रभावकारी ढंगले छात्रवृत्ति प्रदान गर्न सहज हुनेछ।
सरकारको यो पहलले लामो समयदेखि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पहुँचबाट वञ्चित रहेका समुदायका विद्यार्थीलाई चिकित्सक बन्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।