काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा चैत १३ गते नयाँ सरकार बन्ने तय भएको छ। चैत १२ गते नवनिर्वाचित सांसदहरुले सपथ ग्रहण गरेको भोलिपल्ट शाहले आफ्नो मन्त्रीमण्डलसहित सपथ ग्रहण गर्ने तय भएको रास्वपा नेताहरुले बताएका छन्।
नयाँ सरकारको तयारीका लागि बिहिबार सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालले छलफल गरेका छन् । एक हप्ताभित्र मन्त्रीहरुको टुंगो लगाउने तयारी उनीहरुले गरेका छन्।
मन्त्रीमण्डलमा सकेसम्म 'विज्ञ'हरुलाई समाहित गर्ने तयारी गरिएको छ। सभापति लामिछानेले प्रशिक्षण कार्यक्रममा समेत आमसञ्चारलाई देखिएका (चर्चित पात्र) मात्र नभइ छेकिएका (विज्ञ तर चर्चामा नरहेका)लाई महत्व दिन आग्रह गरेका थिए। चर्चामा नरहेका तर आफ्नो विषयमा अब्बल रहेकाहरुलाई मन्त्री बनाएर आम नागरिकको अपेक्षा पूरा गर्नेतर्फ नयाँ सरकार केन्द्रीत हुनुपर्नेछ।
१५ मन्त्री र ३ राज्यमन्त्रीसहित १८ जनाको मन्त्रीमण्डल बनाउनेगरी छलफल चलेको छ। पहिले भन्दा चुस्त बनाउने भन्दै मन्त्रालयको संख्या घटाउन लागिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी स्वास्थ्य क्षेत्रमै सक्रियहरुलाई दिने सम्भावना छ। मन्त्रीमण्डलमै पहिलो प्राथमिकता प्रत्यक्ष जितेर आएकाहरुलाई दिइने संकेत देखिएको छ। जसअनुसार प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा यसपल्ट स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरुको संख्या पनि उल्लेखनीय देखिएको छ। प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार बनाएका चिकित्सक डा. लेखजंग थापा, डा. तोसिमा कार्की, डा. शम्भुकुमार यादव र नेपाली कांग्रेसबाट डा. मोहम्मद फिर्दोस आलम निर्वाचित भएका छन्। रास्वपाबाट जनस्वास्थ्यविज्ञ डा आनन्दबहादुर चन्द, जनस्वास्थ्य विज्ञ दीपककुमार साह र स्वास्थ्य स्वयंसेविका आशा झा निर्वाचित भएका छन्।
कसको कुन क्षेत्रमा विज्ञता ?
डा. थापा वरिष्ठ न्युरोलोजिष्ट हुन्। उनी रुपन्देही क्षेत्र नम्बर–३ बाट विजयी भएका हुन्। उनले ५८,८१४ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८,४३५ मत ल्याए। डा. थापाले एमडी (इन्टरनल मेडिसन) र डीएम (न्युरोलोजी) अध्ययन पूरा गरेका छन्। राष्ट्रिय न्युरो केन्द्र काठमाडौंमा न्युरोलोजी विभागका निर्देशक तथा प्रमुखको रूपमा काम गरिसकेका छन्। साथै मनमोहन मेमोरियल मेडिकल कलेजका वरिष्ठ न्युरोलोजिस्ट थिए। नेपाल स्ट्रोक संघका संस्थापक तथा अध्यक्ष रहिसकेका उनी विश्वस्तरीय न्युरोलोजी तथा स्ट्रोक नेटवर्कहरूसँग आबद्ध छन्। डा. थापा २०७९ को चुनावमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)को प्रदेश सभा सदस्यमा समानुपातिक उम्मेदवार थिए, तर उनलाई सांसद् भने बनाइएन।
डा. तोसिमा कार्की दोस्रोपटक प्रतिनिधि सभामा निर्वाचित भएकी छिन्। अघिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वास्थ्य राज्यमन्त्री बनिसकेकी डा. कार्की ललितपुर–३ बाट पुनः प्रतिनिधि सभामा पुगेकी हुन्। उनले ४३,९६ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९,०४५ मत ल्याएका छन्। डा. कार्कीले किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट एमएस (शल्य–चिकित्सामा स्नातकोत्तर) अध्ययन पूरा गरेकी छिन्। उनले नेपाल मेडिकल काउन्सिलमा कार्यकारी सदस्य भइसकेकी छन्। राजनीतिमा आउनु अघि उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन्। चिकित्सा शिक्षा तथा सेवा सुधारका लाग डा. गोविन्द केसीले गरेको सत्याग्रहसँग जोडिएर उनी सामाजिक जीवनमा प्रवेश गरेकी हुन्।
जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्द कैलाली–५ बाट निर्वाचित भएका छन्। नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई २० मतले पराजित गर्दै विजयी भएका छन्। चन्दले ३१,९५३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी शाहले ११,९५८ मत ल्याए। जनस्वास्थ्य अभियान्ता समेत रहेका चन्द राजनीतिमा त्रिभुवन विश्वविद्यालय पाटन बहुमुखी क्याम्पसमा उपप्राध्यापक थिए। १७ वर्ष उपप्राध्यापकका रूपमा रहेका उनले जैविक रसायनशास्त्रमा स्नातकोत्तर र अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीसँग सहकार्यमा त्रिभुवन विश्वविद्यालयबाट पीएचडी पूरा गरेका छन्। शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा उनले महत्वपूर्ण योगदान गरेका छन्। नसर्ने रोग बिरुद्धका अभियान्ता उनले नेपालको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन क्षेत्रको अभियानको अगुवाइ गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. शम्भु यादव निर्वाचित भएका छन्। सिराहा–३ बाट ३२,२४९ मत ल्याएर उनी विजयी भएका हुन्। उनले २०६७ सालमा भारतबाट एमबीबीएस उत्तीर्ण गरेका हुन्। नेपाल फर्किएपछि केही समय काठमाडौंका निजी अस्पतालमा काम गरेपछि सिराहा फर्किएका हुन्। उनी राजनीतिमा आउनुअघि सिरहाको मिर्चैयास्थि एक पोलिक्लिनिकमार्फत सेवा दिँदै आएका थिए।
जनस्वास्थ्य विज्ञ तथा दृष्टि विशेषज्ञ दीपककुमार साह रास्वपाबाटै सांसद बनेका छन्। उनले महोत्तरी–२ बाट १९ पटक मन्त्री बनेका जनता समाजवादी पार्टी, नेपालका शरतसिंह भण्डारीसहितलाई पराजित गरे। साहले ३२,७२२ मत ल्याए, उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले १०,१९८ मत प्राप्त गरे। उनले जनस्वास्थ्य विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन्। लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र इन्स्टिच्युट अफ मेडिसिनमा समेत अध्ययन गरेका उनी त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए।
स्वास्थ्य स्वयंसेविकाका रूपमा १६ वर्षसम्म काम गरेकी आशा झा मोरङ–५ बाट निर्वाचित भएकी छिन्। रास्वपाबाट उम्मेदवारी दिएका उनले ३१,४३४ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फुलकुमार लालवानीले ९,४१५ मत मात्रै पाए। जनस्वास्थ्यमा स्नातक गरेकी उनी स्वास्थ्य अभियानमा सक्रिय थिइन्।
समानुपातिकमा दुई डाक्टर, पाँच नर्स
रास्वपा समानुपातिक सांसदको सूचीमा दुई डाक्टर र पाँच नर्स समावेश भएका छन्। डा ओजस्वी शेरचन, डा अंकिता ठाकुर र नर्स प्रभा ढकाल ५७ जनाको समानुपातिक सूचीमा अटाएका हुन्। मेडिकल डाक्टर शेरचन नेपाल मेडिकल कलेजमा एशोसिएसट प्रोफेसरका रुपमा कार्यरत थिइन्। डा ठाकुर दन्त चिकित्सक हुन् ।
समानुपातिक सांसदको सूचीमा ५ नर्सहरु समावेश भएका छन्। जसमा प्रभा ढकाल खस आर्य समुदाय,निशा मेहता मधेसी समुदाय, कामिनी चौधरी मधेसी थारू समुदाय, सामिना मियाँ मुस्लिम समुदाय र खिमा बिक दलित समुदायबाट समानुपातिक सूचीमा पर्न सफल भएका हुन्।
समानुपातिक सूचीमा परेका नर्सहरुमध्ये प्रभा चितवन, समिना चितवन, निशा सुनसरी, कामिनी महोत्तरी र खिमा दाङमा कार्यरत थिए।
पराजित चिकित्सक
चिकित्सक उम्मेदवारहरु नेपाली कांग्रेसबाट मोरङ–३ का डा. सुनील शर्मा, मोरङ–६ का डा. शेखर कोइराला, सिराहा–३ का डा. सुवास यादव र सर्लाही–२ का डा. सरोजकुमार यादव पराजित भएका छन्। यस्तै नेकपाबाट सर्लाही–४ मा उम्मेदवार बनेका डा. रजनिश राय र जनता समाजवादी पार्टी (जसपा)बाट महोत्तरी–३ मा उम्मेदवार बनेकी डा. मीनाक्षी ठाकुर पनि पराजित भएकी छन्।
ललितपुर–३ मा उज्यालो नेपाल पार्टीका डा. आशुतोषविजय पन्त, काठमाडौँ–१० का उम्मेदवार डा. राकेश न्यौपाने र डा. धनबहादुर श्रेष्ठ, उज्यालो पार्टी नेपालले मकवानपुर–२ मा डा. प्रविन स्याङ्तान र महोत्तरी–२ मा डा. राकेश मण्डल पराजित भएका छन्। नेपाल जनसेवा पार्टीबाट रूपन्देही–२ मा उम्मेदवार बनेका डा. निकोलस भुसाल अन्तिम समयमा उम्मेदवारीबाटै पछि हटेका थिए भने दलभन्दा बाहिर स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ–४ बाट डा. अर्चनशमशेर राणा र महोत्तरी–२ बाट डा. धनञ्जयकुमार हाथीले जित हासिल गर्न सकेनन्।
स्वास्थ्य मन्त्री सवै पराजित
प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा अधिकांश पूर्व स्वास्थ्य मन्त्रीहरू पराजित भएका छन्। पराजित हुनेमा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेल, पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, गिरिराजमणि पोखरेल, गगनकुमार थापा, पदम गिरी, प्रदीप यादव, शेरबहादुर तामाङ र उपेन्द्र यादव रहेका छन्।