काठमाडौं - आज विश्व मुख स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ। 'वर्ल्ड डेन्टल फेडेरेसन'को अनुरोधमा हरेक वर्ष मार्च २० लाई विश्व मुख स्वास्थ्य दिवसका रूपमा मनाउने गरिएको छ।
नेपाल डेन्टल एसोसिएसनले केन्द्र तथा शाखाहरूमा विभिन्न कार्यक्रम गर्ने तय गरेको छ। एसोसिएसनले देशभरका १५ वटा शाखामार्फत साताव्यापी रूपमा मुलुकभर रहेका आफ्ना सदस्यहरूलाई निःशुल्क मुख तथा दन्त परीक्षण सेवा सञ्चालन गर्न अनुरोध गरेको छ।
वर्ल्ड डेन्टल फेडेरेसनले यस वर्षको नारा 'ह्याप्पी माउथ इज अ ह्याप्पी लाइफ' तय गरेको छ। फेडेरेसनका अनुसार फ्लोराइडयुक्त टुथपेस्टले दिनमा दुईपटक ब्रस गर्नाले गिजा र दाँतलाई बचाउन धेरै मद्दत पुग्छ। मुख स्वास्थ्य राम्रो भएमा व्यक्तिको आत्मविश्वास र व्यक्तित्वमा निखार आउन सक्छ। फ्लोराइडयुक्त टुथपेस्टबाट दाँत माझ्दा मुखका हानिकारक ब्याक्टेरिया नष्ट हुन्छन्।
नेपालमा दन्त चिकित्सकहरू पूर्ण रूपमा योग्य रहेका र उपचारका लागि विदेश जान आवश्यक नभएको एसोसिएसनका अध्यक्ष डाक्टर अजयकुमार शाह बताउँछन्। हाल नेपाल मेडिकल काउन्सिलमा ७ हजार दन्त चिकित्सक दर्ता भइसकेका छन्।
विगत २६ वर्षको अवधिमा दन्त चिकित्साको क्षेत्रमा नेपालले फड्को मार्दै देश-विदेशमा नाम राख्न सफल भएको छ। हाल मुलुकका १३ वटा कलेजमा दन्त चिकित्साको अध्यापन हुन्छ। स्वदेश र विदेशमा अध्ययन गरी आएका दन्त चिकित्सकहरूको तथ्याङ्क हेर्दा वर्षेनी करिब १ हजार २०० को हाराहारीमा चिकित्सकहरू उत्पादन भइरहेका छन्। यसमध्ये सातवटा डेन्टल कलेजमा विशेषज्ञता (पोस्ट ग्राजुएसन) को शिक्षा सञ्चालन भइरहेको छ। सन् २०१६ देखि नेपालका डेन्टल कलेजहरूबाट प्रतिवर्ष ६ सयको हाराहारीमा दन्त चिकित्सकहरू उत्पादन भइरहेका छन्।
नेपालमा मुख तथा दन्त उपचारका लागि औसत ३० हजार जनसङ्ख्या बराबर एकजना दन्त चिकित्सक पर्छन्। अन्तर्राष्ट्रिय सन्दर्भमा भने ४ हजार जनसङ्ख्या बराबर एकजना दन्त चिकित्सक हुनुलाई प्रभावकारी मानिन्छ।
अहिले मुलुकमा चार दर्जनको हाराहारीमा मात्र सरकारी दरबन्दीमा दन्त चिकित्सकहरू कार्यरत छन्। एसोसिएसनका महासचिव डाक्टर प्रदीप भण्डारीले दन्त चिकित्सकहरूको सरकारी दरबन्दी न्यून भएकाले तत्काल दरबन्दी बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। उनका अनुसार देशभरका प्रत्येक पालिकाका १५ बेडका अस्पतालहरूमा कम्तिमा दुईजना दन्त चिकित्सक र दन्त सहायकहरूको दरबन्दी आवश्यक छ।
संसारको ९० प्रतिशत जनसङ्ख्या आफ्नो जीवनमा एकपटक दाँत किराले खाने, गिजाको समस्या एवं मुखको क्यान्सरबाट पीडित हुन सक्ने तथ्याङ्क छ। सुर्तीजन्य पदार्थ र मदिरा सेवन गर्नेहरूमा मुखको क्यान्सरको जोखिम उच्च देखिएको छ। विकसित मुलुकहरूमा मुख तथा दन्त उपचारमा कुल स्वास्थ्य बजेटको ५ देखि १० प्रतिशत खर्च हुने गर्छ। नेपालमा भने दन्त उपचारमा बजेट एकदमै न्यून छ, जसमा नेपाल डेन्टल एसोसिएसनले पटक-पटक सरकारको ध्यानाकर्षण समेत गराउँदै आएको छ।
दाँत दुखाइका कारण विद्यार्थीहरू विद्यालयमा अनुपस्थित हुने सङ्ख्या पनि उच्च छ। धेरै गुलियो चिजको सेवनले दाँत किराले खाने र मधुमेहको समस्या बढ्दो छ। डरका कारण पनि कतिपय सर्वसाधारणले दन्त चिकित्सा सेवा नलिने गरेको अनुसन्धानले देखाएको छ।