एजेन्सी- लामो समयदेखि महिलाको प्रजनन् प्रणालीसँग मात्र जोडेर हेरिँदै आएको एन्डोमेट्रियोसिस अब शरीरका अन्य अंगहरूमा पनि असर गर्ने जटिल रोग भएको नयाँ अध्ययनहरूले देखाएका छन्।
एन्डोमेट्रियोसिसले केवल पाठेघर मात्र नभई आन्द्रा, फोक्सो, मुटुको वरिपरि रहेको भाग, स्नायु प्रणाली लगायत शरीरका अन्य अंगहरूमा समेत प्रभाव पार्न सक्छ।
एन्डोमेट्रियोसिस एक दीर्घकालीन रोग हो, जसमा पाठेघरको भित्री तहजस्तै तन्तु पाठेघर बाहिर पनि बढ्छ। यसले दुखाइ, सूजन र दाग बस्ने समस्या निम्त्याउँछ। तर अहिलेको अनुसन्धानले देखाउँछ, यो समस्या त्यत्तिमै सीमित छैन।
अमेरिकाकी जुली नासको अनुभव यसैको उदाहरण हो। उनलाई किशोरावस्थादेखि नै महिनावारी अत्यन्तै पीडादायक हुन्थ्यो। वर्षौँसम्म उनले थकान, कब्जियत, बारम्बार पिसाब लाग्ने, पेट पोल्ने जस्ता समस्या भोगिन्। सुरुमा यी लक्षणहरू छुट्टाछुट्टै समस्या जस्तो लागे पनि पछि थाहा भयो, यी सबै एन्डोमेट्रियोसिससँग सम्बन्धित रहेछन्। सर्जरीमा चिकित्सकहरूले उनको पेट, आन्द्रा, स्नायु र शरीरका अन्य भागमा फैलिएका घाउहरू हटाएपछि मात्र उनको अवस्था सुधारियो।
विशेषज्ञहरू भन्छन्, 'एन्डोमेट्रियोसिस एक प्रकारको सूजनजन्य रोग हो, जसले शरीरको विभिन्न अंग प्रणालीलाई असर गर्न सक्छ। यही कारणले गर्दा यसका लक्षणहरू पनि फरक-फरक देखिन्छन्, जसले धेरैलाई अलमलमा पार्ने गर्छ।'
अमेरिकामा गरिएको एउटा ठूलो अध्ययनमा करिब ४० हजार महिलाको स्वास्थ्य विवरण विश्लेषण गर्दा एन्डोमेट्रियोसिस भएका महिलामा माइग्रेन, दम, एसिडिटी, भिटामिन डि को कमी र आत्म-प्रतिरक्षा रोगहरू(अटोइम्यून) समेत बढी देखिएको पाइएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार यसको कारण पूर्ण रूपमा स्पष्ट भइसकेको छैन। तर विशेषज्ञहरूले केही सम्भावित कारणहरू प्रस्ताव गरेका छन्। केही लक्षणहरू दीर्घकालीन दुखाइबाट हुने संवेदनशीलताका कारण देखिन सक्छन्। अन्य समस्या शरीरभर फैलिने सूजन वा एन्डोमेट्रियल घाउबाट उत्पन्न उच्च एस्ट्रोजेन स्तरसँग सम्बन्धित हुन सक्छ। त्यस्तै, वंशानुगत कारकहरूको पनि भूमिका हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, केही अध्ययनहरूले एन्डोमेट्रियोसिस भएका महिलामा मुटु रोगको जोखिम पनि बढ्न सक्ने देखाएका छन्, तर यसको ठोस कारणबारे अझै अनुसन्धान भइरहेको छ।
अहिले विशेषज्ञहरूले एन्डोमेट्रियोसिसलाई केवल प्रजनन्सम्बन्धी समस्या भनेर मात्र नहेरी, सम्पूर्ण शरीरलाई असर गर्ने रोगका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन्। यसले समयमै पहिचान र सही उपचारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।
महिलामा बच्चा नहुनुको एउटा प्रमुख कारणमध्ये एन्डोमेट्रियोसिस पनि एक हो। यदि यसलाई समयमा उपचार गरिएन भने बच्चा नहुने समस्याका साथै शरीरका अन्य अंगहरु पनि गुमाउनुपर्ने अवस्था आउन सक्छ। समयमा नै उपचार नहुँदा झिल्लीहरु विस्तारै बढ्दै जाने र शरीरका अन्य अंगमा असर गर्ने छ।
प्रजनन् उमेर समूहका १५ देखि ४४ वर्षका महिलाको पाठेघरभित्र एन्डोमेट्रियम भन्ने पाठेघरको भित्री झिल्ली हुन्छ। जुन हरेक महिनावारी हुने क्रममा हरेक पटक काँचुली फेरेर रगत आउने हुन्छ। जसलाई महिनावारी भएको भनिन्छ। त्यो एन्डोमेट्रियम पाठेघरभित्र मात्र हुनुपर्छ।
तर, त्यो झिल्ली विभिन्न कारणले पाठेघरबाहिर, डिम्बासय, तल्लो पेट, डिम्बाहिनी नली, अगाडि पिसाबको थैली, पछाडि दिसाको नली, पाठेघरको अन्य भागमा भेटियो भने त्यो अवस्थालाई एन्ड्रोमेट्रियोसिस भनिन्छ। ती भागमा एन्डोमेट्रियम झिल्ली अर्थात् रगत जमेको अवस्थामा बस्छ। एक्स–रे गरेर हेर्दा त्यो ट्मुमर जस्तो देखिन्छ।