काठमाडौं - वीर अस्पतालले सेवा सुधारलाई प्राथमिकतामा राख्दै नयाँ पहल थालेको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पाको नेतृत्वमा ‘वीर अस्पताल सुधार, अनुगमन तथा सुधार समिति’ गठन गरिएको छ।
डा. शेर्पाका अनुसार अस्पताल परिसरको सरसफाइ सुधारदेखि कर्मचारी र सेवाग्राहीका गुनासो सम्बोधनसम्मका काम तीव्र रूपमा अघि बढाइएको छ। उनले प्रत्येक समस्या समाधानका लागि तुरुन्तै कदम चाल्ने नीति अपनाइएको बताए।
'अस्पतालप्रति आमनागरिकमा रहेका गुनासोहरू सम्बोधनबाटै सुधारको सुरुवात गरेका छौं,' उनले भने, 'हाम्रो लक्ष्य वीर अस्पताललाई व्यवस्थित र उदाहरणीय बनाउने हो।'
हाल अस्पतालमा सरसफाइ, खानेपानी, शौचालय व्यवस्थापन सुधारका साथै अस्पताल परिसरको २०० मिटर क्षेत्रभित्र सुर्तिजन्य पदार्थ सेवन निषेध गर्ने अभियान सञ्चालन भइरहेको छ। साथै बगैँचा व्यवस्थापन (गार्डेनिङ) जस्ता कार्यहरू पनि अगाडि बढाइएको छ।
डा. शेर्पाले बाह्य सुधारसँगै संरचनागत सुधार पनि अपरिहार्य रहेको उल्लेख गर्दै त्यसतर्फ पनि काम भइरहेको जानकारी दिए।
सुधार प्रक्रियामा सेवाग्राहीको सुझाव महत्वपूर्ण हुने भन्दै अस्पतालले क्यूआर कोडमार्फत गुनासो तथा सुझाव संकलन गर्ने व्यवस्था गरेको छ। उक्त क्यूआर कोड अस्पताल परिसरका विभिन्न स्थान र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ।
अस्पताल प्रशासनले सर्वसाधारणलाई क्यूआर कोड स्क्यान गरेर आफ्ना सुझाव र गुनासो पठाउन आग्रह गरेको छ।
