दुनै- नेपाल स्वयंसेवी रक्तदाता समाजले आफ्नो सांगठनिक विस्तारलाई हिमाली जिल्ला डोल्पासम्म पुर्याएको छ। शनिबार डोल्पाको सदरमुकाम दुनैमा सम्पन्न जिल्ला भेलाले स्वास्थ्यकर्मी तथा सामाजिक अभियन्ता राजनकुमार डाँगीको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
यो विस्तारसँगै नेपाल स्वयंसेवी रक्तदाता समाजको जिल्ला शाखाहरूको संख्या ४५ पुगेको छ। नयाँ कार्यसमिति र पदाधिकारीहरू जिल्ला अस्पतालका मेसु डा. सिजन रावलको अध्यक्षता तथा समाजका केन्द्रीय अध्यक्ष एवं शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले डाँगीको अध्यक्षतामा गठन गरेको जिल्ला कार्यसमिति उपाध्यक्षमा दिलमाया केसी चयन भएकी छिन्।
यस्तै, सचिवमा कर्ण विक, कोषाध्यक्षमा मिनराज बुढा (बिबश) र समितिको सदस्यहरूमा सुमन थापा, जयकृष्ण हमाल, प्रेम थापा, नवीनकुमार शाही, रूपलाल बोहरा, आनन्द सिंह रावल र चन्द्रराज बुढा चयन भएका छन्।
साथै, समितिको पहिलो बैठकले राज्यलक्ष्मी हमाल र डा. अखण्ड उपाध्यायलाई सदस्य पदमा मनोनित गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले मानव सेवाको सबैभन्दा पवित्र कार्य 'रक्तदान' अभियानमा डोल्पा जोडिनु खुसीको कुरा भएको बताए।
उनले नयाँ कार्यसमितिलाई बधाई दिँदै जिल्लामा रगतको अभाव हुन नदिन सक्रिय भूमिका खेल्न आग्रह गरे।
भेलामा सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेल, संग्राम सार्दुल गणका सेनानी डा. अजय प्रसाद पाण्डे, दीपक राज भट्ट र सुवास राना लगायतको उपस्थिति थियो।
शाखा गठनकै अवसरमा एक उदाहरणीय सामाजिक कार्यको समेत सुरुवात गरिएको छ। केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले ध्रुबतारा आधारभूत विद्यालयको अपाङ्ग स्रोत कक्षामा अध्ययनरत कक्षा ४ की छात्रा शर्मिला विकको शिक्षाको पूर्ण जिम्मेवारी लिने घोषणा गरेका छन्। कर्माचार्यले ती छात्राको कक्षा १२ सम्मको सम्पूर्ण अध्ययन खर्च व्यक्तिगत रूपमा व्यहोर्ने प्रतिबद्धता जनाए।