बुटवल- लुम्बिनी प्रदेशकै मुख्य उपचार केन्द्रको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफ्नो सेवामा आधुनिक प्रविधिको विस्तार गर्दै लगेको छ। अस्पतालको ११६ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबारदेखि औपचारिक रूपमा एमआरआई सेवा सञ्चालनमा ल्याइएको हो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सो सेवाको उद्घाटन गर्दै अब यस क्षेत्रका नागरिकले एमआरआईकै लागि काठमाडौं वा भारतको गोरखपुरसम्म पुग्नुपर्ने सास्ती र खर्चिलो बाध्यता हटेको बताए। १२ करोड रुपैयाँको लागतमा खरिद गरिएको उक्त अत्याधुनिक मेसिन जडानसँगै अस्पतालले विशिष्टीकृत सेवामा आफ्नो उपस्थिति बलियो बनाएको छ।
मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पताललाई आगामी दिनमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने सरकारको योजना रहेको सुनाए। 'नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन हामीले यसलाई प्रतिष्ठानको स्वरूप दिने गरी काम अघि बढाएका छौँ,' उनले भने। हाल निर्माणाधीन १२ सय शय्याको नयाँ भवनको ४० प्रतिशत काम सम्पन्न भइसकेको र आगामी तीन वर्षभित्र सबै सेवा नयाँ संरचनाबाटै दिइने उनको दाबी छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार वार्षिक साढे ३ लाखभन्दा बढी बिरामीले यहाँबाट सेवा लिइरहेका छन्। दैनिक करिब ३ हजार बिरामीको चाप रहने यस अस्पतालमा सहुलियतपूर्ण र प्रभावकारी उपचारका लागि नयाँ मापदण्ड लागू गरिएको छ। अस्पतालमा हाल बालरोग, प्रसूति, मुटु, न्युरो, र हाडजोर्नी लगायतका प्रमुख विभागहरू सक्रिय छन्।
स्वास्थ्यमन्त्री खेमबहादुर सारुले अस्पतालको ९ सयभन्दा बढी जनशक्तिलाई प्रोत्साहित गर्दै सेवालाई अझ जनमुखी बनाउन मन्त्रालयले आवश्यक समन्वय गरिरहेको बताए।
वार्षिकोत्सवको अवसरमा अस्पतालले आफ्ना जनशक्तिलाई उच्च सम्मान प्रकट गरेको छ। २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई 'दीर्घ सेवा पदक' र अवकाशप्राप्त कर्मचारीहरूलाई कदरपत्र प्रदान गरियो। कार्यक्रममा स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ लगायत अस्पताल विकास समितिका पदाधिकारी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।
एमआरआई सेवा सुरु भएसँगै निजी अस्पतालहरूको महँगो शुल्क तिर्न बाध्य बिरामीहरूले अब सरकारी अस्पतालबाटै सुलभ दरमा यो सेवा पाउने अपेक्षा गरिएको छ।