काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतम शर्माले अर्थ मन्त्रालयको कार्यशैलीप्रति कडा आक्रोश व्यक्त गरेकी छिन्। पाँच महिने कार्यकालमा आफ्ना अनुभव साट्दै स्वास्थ्यबाट बिदा हुने क्रममा आयोजित धन्यवाद मन्तव्यका क्रममा उनले अर्थ मन्त्रालयको असहयोगका कारण देशका सरकारी अस्पतालहरू गम्भीर संकटमा परेको बताएकी हुन्।
मन्तव्यका क्रममा मन्त्री शर्माले अस्पतालहरूको न्यूनतम आवश्यकता पूरा गर्न र बिरामीको सेवा सुचारु राख्न मन्त्रालयले सात अर्ब रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले केवल एक अर्ब मात्र उपलब्ध गराएको जानकारी दिइन्।
निर्वाचनपछि बाँकी बजेट दिने प्रतिबद्धता जनाए पनि अहिले अर्थ मन्त्रालय जिम्मेवारीबाट पन्छिएको मन्त्री शर्माको आरोप छ।
'कात्तिक महिनासम्मको हिसाब निकालिसकेर सात अर्ब मागेकोमा जम्मा एक अर्ब मात्रै पायौँ,' उनले भनिन्, 'हाम्रा अस्पतालका समस्याबाट विमुख भएर अर्थ मन्त्रालय अहिले 'कुलिङ पिरियड' मनाउन व्यस्त छ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अर्थको यस्तो व्यवहार बुझिनसक्नु छ।'
अर्थको असहयोगका बाबजुद आफ्नो कार्यकालमा स्वास्थ्य बीमामा रहेका दशकौँ पुराना विकृतिहरू केलाएर सुधारको जग बसालिएको उहाँले दाबी गर्नुभयो। बीमा बोर्डको आर्थिक संकट टार्न मन्त्रालयकै अन्य कार्यक्रम कटौती गरेर ७५ करोड उपलब्ध गराएको स्मरण गर्दै उनले भनिन्, 'हामीले चालेका सुधारका कदमबाट आगामी दिनमा राज्यको अर्बौँ रुपैयाँ बचत हुनेछ।'
बीमाका विषयमा मन्त्रीको मन्तव्यमा रहेको विवरण यस्तो छ
बीमाको चुनौती अझै सकिएको छैन। स्वास्थ्य मन्त्रालयकै धेरै महाशाखाका कार्यक्रम कटौती गरेर भए पनि ७५ करोड रकम बीमालाई उपलब्ध गरायौँ। यो कठिन समयमा सहयोग गर्नुहुने सबै महाशाखाका साथीहरूलाई म धन्यवाद दिन चाहन्छु। कात्तिक महिनासम्मको हिसाब निकालिसकेर अर्थ मन्त्रालयसँग सात अर्ब मागेकोमा जम्मा एक अर्ब मात्रै पायौँ, निर्वाचन पछि बाँकी रकम दिन्छु भन्ने वचन दिएर पनि, हाम्रा अस्पतालका समस्याबाट विमुख भएर, अर्थ मन्त्रालय 'cooling period' मनाउन व्यस्त छ। हरेक प्रकारको emergency मा triage र प्राथमिकीकरण गरेर काम गर्ने हामी स्वास्थ्यकर्मीलाई यस्तो किसिमको व्यवहार र उपचार बुझिनसक्नु भएको छ- दुःख मनाउ गर्ने बाहेक केही गर्न नसक्ने अवस्थामा हामीलाई पुर्याइएको छ।
हेरौं मन्त्री सुधाको मन्तव्यको पूर्णपाठ
स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतम शर्माको धन्यवाद मन्तव्य
सचिवज्यूहरू, अतिरिक्त सचिवज्यू, उपकुलपतिज्यूहरू, निर्देशकज्यूहरू, महाशाखा प्रमुखज्यूहरू, कर्मचारी मित्रहरू, सबैमा हार्दिक नमस्कार।
मन्त्रीको जिम्मेवारीबाट बिदा लिँदै गर्दा, हामीले सँगै बिताएका यी पाँच महिनाको यात्रा र यो मन्त्रालयमा आफूले सम्पन्न गरेको जीवन यात्रालाई मैले गहिरो रूपमा स्मरण र विश्लेषण गरेको छु। यो स्थान, यो मन्त्रालय, हामीमध्ये धेरैका लागि दोस्रो घर, हाम्रो साझा अनुभवहरूको केन्द्र हो। हामी धेरैले यहाँ काठमाडौँमा मात्र होइन, देशैभरि नै विभिन्न कालखण्डमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीका रूपमा अमूल्य वर्षहरू बिताएका छौँ।
हाम्रो एउटै साझा उद्देश्य छ- नेपालका जनतालाई सेवा गर्नु, उनीहरूलाई स्वस्थ राख्नु, बिरामी हुँदा उचित उपचार सुनिश्चित गर्नु, निरोगी नेपाल बनाउनु। हाम्रो कामको केन्द्रमा सधैँ हाम्रा बिरामीहरू छन्, महिला, बालबालिका, किशोरकिशोरी, ज्येष्ठ नागरिक र सबैभन्दा कमजोर वर्ग।
हामीले आत्मसात् गरेका छौँ हाम्रा शास्त्रीय वचनहरू-
सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद्दुःखभाग्भवेत।
हाम्रो देश, यो संस्था, हाम्रो सेवा गर्ने स्थान, हालैको कठिन अवस्थाबाट गुज्रिएको छ। जब जनताको सेवा गर्न बनाइएका प्रणालीहरूले अपेक्षित परिणाम दिन सक्दैनन्, त्यस्तो निराशा अन्ततः विस्फोटका रूपमा प्रकट हुन्छ, त्यही भयो। हामीले देखेको, भोगेको, नचाहेको, त्यो असन्तोष आकस्मिक थिएन, वर्षौँको बेथितिको उपज थियो। आज, हामीले इमानदारीका साथ यो कुरा स्वीकार गर्न आवश्यक छ। यस्तो नदोहोरियोस् भन्ने चुनौती हाम्रा सामु छ- त्यो चुनौती सफलताका साथ सम्हाल्ने अभिभारा वहन गर्नु पनि छ।
त्यस्तो संवेदनशील समयमा मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा, मलाई थाहा थियो मन्त्रालयको काम चुनौतीपूर्ण छ, तर त्यहाँ ठुलो सम्भावना पनि छ। आज, निर्वाचन सम्पन्न भएको छ, नयाँ सरकार बन्दै छ, यस्तो समयमा म यहाँबाट बिदा लिँदै गर्दा तपाईंहरूको कामप्रति गहिरो सम्मान र हामीले सँगै हासिल गरेका प्रगतिप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु।
आफ्ना भनाइहरू म हार्दिक धन्यवादबाट सुरु गर्न चाहन्छु। अनिश्चितता, सीमितता, र कठिन परिस्थितिमा पनि तपाईंहरूले काम गर्नुभयो। भौतिक स्थानको समस्या, भविष्यको अन्योल, दिशा अस्पष्टता, यी सबैका बीचमा पनि तपाईंहरू अघि बढ्नुभयो। जेन जीको घाउचोटमा मलम लगाउने र उनीहरूको अपेक्षामा खरो उत्रने, अनि स्वास्थ्यकर्मीहरूको हडताल, अन्य धेरैको दबाब, र धेरै चुनौतीका बीचमा तपाईंहरूमध्ये धेरैजना परिवर्तन स्वीकार गर्न र सुधारका लागि प्रयासरत रहनुभयो। रातदिन गुनासो सुन्ने र तिनको समाधानमा खटिनुहुने सबैमा धन्यवाद। हाम्रो कार्यालय सञ्चालन गर्न भवन उपलब्ध गराउने नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र अध्यक्ष डा. प्रमोद जोशीलाई हार्दिक धन्यवाद र मेरो सचिवालयमा व्यवस्थापनमा रातदिन नभनी खटिनुहुने, भेटघाट सहजीकरण गरिदिनुहुने यमुनाजी र साथीहरूमा हार्दिक धन्यवाद। मन्त्रालयका सहयोगी कर्मचारी, सवारी चालक, सुरक्षाकर्मी सबैमा हार्दिक धन्यवाद।
हामीले संकटको समयमा पनि जिम्मेवारी निर्वाह गर्यौँ, घाइतेहरूको उपचार, वर्गीकरण, र उहाँहरूलाई सहयोग प्रदान गर्यौँ। यो काम अझै पूर्ण भइसकेको छैन, तर तपाईंहरूले राम्रोसँग सम्पन्न गर्नुहुनेछ भन्ने मेरो विश्वास छ। यो कामको संयोजनमा खटिनुभएका डा. प्रकाश बुढाथोकी र साथीहरूको प्रयासका लागि हार्दिक धन्यवाद।
चाहे प्रशासनिक कुरा हुन् वा नीतिगत कुरा हुन्, चाहे शिक्षण होस् या व्यवस्थापन वा अग्रपंक्तिमा रही सेवा दिने कुरा - यी सबैमा तपाईंहरूको, र देशैभरि रहेका कर्मठ हातहरूको योगदानले धेरै फरक पारेको छ- धेरै राम्रो फरक पारेको छ। धेरैजसो योगदानहरू देखिँदैनन्, तर ती गहिरो रूपमा महसुस गरिन्छन्। छोटो समयमा पनि सातै प्रदेश घुमेर मैले प्रगति देखेको छु, महसुस गरेको छु, र म तपाईंहरूको क्षमताप्रति पूर्ण विश्वासका साथ बिदा लिँदैछु। तपाईंहरूको सेवाभावका लागि धन्यवाद। दुवै सचिवज्यूहरूको नेतृत्व र तपाईंहरू सबैजनाको धैर्यता, सहनशीलताका, कर्मशीलताका लागि धन्यवाद।
हाम्रा कुराहरू, कामहरू, चुनौती र सफलता बारे सबै जनतालाई जानकारी दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएका मिडियाकर्मी साथीहरूप्रति हार्दिक आभार सहित धन्यवाद। मेरो मेसेन्जर र ह्वाट्सएपमा थुप्रै सूचना र जानकारी दिएर सहयोग गर्नुहुने महानुभावहरूप्रति हार्दिक कृतज्ञता।
मन्त्रालयको कोणबाट हेर्दा यो छोटो कार्यकालमा हामीले महत्वपूर्ण प्रगति गरेका छौँ। हाम्रा थुप्रै नियमित कामहरू त छँदै थिए, ती सबै गर्यौँ, गर्दै छौँ, हाम्रा कामहरूको विवरण र नयाँ सरकारलाई सुझाव सहितको प्रतिवेदन मैले छुट्टै बनाएको छु। यसको PDF copy हाम्रो Website मार्फत सम्प्रेषण गरिने छ।
हामीले केही थप प्राथमिकताहरू तय गर्यौँ - तीन क्लिनिकल प्राथमिकता: मानसिक स्वास्थ्य, आप्रवासी कामदारहरूको स्वास्थ्य, उच्च जोखिम भएका प्रदेशहरूमा मातृ तथा शिशु स्वास्थ्य, र तीन प्रणाली सुधारका प्राथमिकता: खरिद प्रक्रिया, औषधि व्यवस्थापन, र बीमा सुधार। यी क्षेत्रमा हामीले समस्या पहिचान मात्र होइन, समाधानतर्फ कदम पनि चाल्यौँ।
धेरै राम्रा प्रगति भएका छन्। उदाहरणका लागि बीमाभित्र झन्डै एक दशकदेखि थुप्रिएका विकृतिहरूका चाङहरू मसिनोसँग केलायौँ र सुधारका कार्यहरू अगाडि बढाइसकेका छौँ। यसबाट आगामी दिनहरूमा बहुमूल्य केही अर्बहरू बचत हुनेछन् र बीमाले भोगेको आर्थिक समस्या केही हदसम्म कम हुनेछ। बीमा बोर्डमा कार्यरत र मन्त्रालयमा यस विषय हेर्नुहुने सबैलाई यी सुधारका कामका लागि म हार्दिक धन्यवाद दिन चाहन्छु।
बीमाको चुनौती अझै सकिएको छैन। स्वास्थ्य मन्त्रालयकै धेरै महाशाखाका कार्यक्रम कटौती गरेर भए पनि ७५ करोड रकम बीमालाई उपलब्ध गरायौँ। यो कठिन समयमा सहयोग गर्नुहुने सबै महाशाखाका साथीहरूलाई म धन्यवाद दिन चाहन्छु। कात्तिक महिनासम्मको हिसाब निकालिसकेर अर्थ मन्त्रालयसँग सात अर्ब मागेकोमा जम्मा एक अर्ब मात्रै पायौँ, निर्वाचन पछि बाँकी रकम दिन्छु भन्ने वचन दिएर पनि, हाम्रा अस्पतालका समस्याबाट विमुख भएर, अर्थ मन्त्रालय 'cooling period' मनाउन व्यस्त छ। हरेक प्रकारको emergency मा triage र प्राथमिकीकरण गरेर काम गर्ने हामी स्वास्थ्यकर्मीलाई यस्तो किसिमको व्यवहार र उपचार बुझिनसक्नु भएको छ- दुःख मनाउ गर्ने बाहेक केही गर्न नसक्ने अवस्थामा हामीलाई पुर्याइएको छ।
औषधि तर्फ- औषधि व्यवस्था विभागको स्तरवृद्धिको योजना, राष्ट्रिय औषधि प्रयोगशालाका लागि नयाँ भवन निर्माणको गुरुयोजना, दुवैका लागि दरबन्दी थप गर्ने कार्य अन्तिम चरणमा पुर्याउनु, मन्त्रालयमा औषधि मामिला महाशाखा स्थापनाको प्रारूप तयार पार्नु आदि रहेका छन्। यी महत्वपूर्ण कामहरूले भविष्यमा औषधिको गुणस्तर, मूल्य, र नवप्रवर्तनहरूको विकासमा ठुलो योगदान दिनेछन्। औषधि मात्र नभएर औषधिजन्य पदार्थहरू- nutraceuticals, medical devices, reagents, cosmetics, herbal products- आदिमा गुणस्तर निर्धारण, नियमन र अनुगमन प्रभावकारी बनाउने पूर्वाधार विकासका लागि यी बलिया आधारस्तम्भका रूपमा रहनेछन्। यो कार्यको नेतृत्व लिनुभएका डा. केसर ढकाल र उहाँको टिमलाई धेरै धन्यवाद।
खरिद सुधार तर्फ- तपाईंहरूलाई थाहै छ- हाम्रा १४ जना साथीहरू निलम्बित छन्। धेरैले काम नजानेर बिगारेका छन्- यसमा श्री सुरेश प्रधान र डा. भीम सिंह टिङकरीको टिमले बनाएका सुधार योजना र तिनको सफल कार्यान्वयनले भविष्यमा खरिद प्रक्रियालाई सहज र पारदर्शी बनाई उपकरणहरूको उचित प्रयोग सुनिश्चित गर्नेछ। यी साना उपलब्धिहरू होइनन्, यी बलिया आधार हुन्। उहाँहरूलाई धेरै धन्यवाद। यो कार्यको नेतृत्व लिनुभएका डा. चुमनलाल दास र उहाँको टिमलाई धेरै धन्यवाद।
प्रगति पूर्णताबाट होइन, समस्यालाई स्वीकार गर्ने, सिक्ने र अगाडि बढ्ने साहसबाट आउँछ। हामीले त्यो साहस गरेका छौँ, र तपाईंहरूले त्यो यात्रा सुरु गर्नुभएको छ।
केही महिनामै हामीले ३० भन्दा बढी स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरूको भ्रमण गर्यौँ। राम्रा प्रगति हेर्यौँ, केही कमी कमजोरी हेर्यौँ। मन्त्रालय र विभागमा पनि राम्रा काम भएका छन्, तर केही कमी कमजोरी छन्- कुनै तुच्छ व्यक्तिको हितमा हामी आफ्नै साथीहरूका विरुद्ध पनि लाग्दा रहेछौँ- अवाञ्छित रूपमा। मिडियामा नकारात्मक कुरा गरेर, चरित्र हत्या गरेर। यी सबैले त्यस्तो गर्ने व्यक्तिलाई क्षणिक लाभ त देला, तर अन्ततोगत्वा मन्त्रालयको प्रतिष्ठा, साथीहरूप्रतिको विश्वास, र काम गर्ने वातावरणलाई प्रदूषित बनाउँछ, यस तर्फ हामी सबै सचेत हुनु जरुरी छ। शिकारी आफैँ पनि शिकार हुन सक्छ- यो नबिर्सौँ।
मन्त्रालयबाट बिदा लिनुअघि यस मन्त्रालयमा पाँच महिना मन्त्रीका रूपमा र विगत चार दशकमा देश विदेशमा लिएका अनुभवका आधारमा केही विचारहरू तपाईंहरू माझ राख्न चाहन्छु, निर्देशनको रूपमा होइन, भविष्यका लागि सुझावका रूपमा:
१. हामीले ढिलाइ कम गर्नुपर्छ। समयमै काम हुनु अत्यन्त महत्वपूर्ण छ। जब निर्णयहरू ढिला हुन्छन्, त्यसको असर प्रणालीमा मात्र होइन, जनतामा पर्छ।
२. हामीले प्रक्रियाहरू सरल बनाउनुपर्छ। प्रणालीहरूले कामलाई सहज बनाउनुपर्छ, जटिल होइन। जहाँ सरल बनाउन सकिन्छ, त्यहाँ सरल बनाऔँ।
३. हामीले मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्नुपर्छ, गतिविधिमा होइन, परिणाममा; प्रक्रियामा होइन, प्रभावमा।
४. हामीले जवाफदेहिता सुदृढ गर्नुपर्छ। दोषारोपणको रूपमा होइन, जिम्मेवारीको रूपमा। जब कुनै काम हाम्रो हो, हामीले त्यसलाई पूर्ण रूपमा पूरा गर्नुपर्छ। हामीले सधैँ तत्परता र उद्देश्यको भावना कायम राख्नुपर्छ।
५. सबैभन्दा महत्वपूर्ण कुरा, हामीले किन यो काम गरिरहेका छौँ भन्ने कहिल्यै नबिर्सौँ। हरेक बैठक, हरेक निर्णय, हरेक फाइलको पछाडि एउटा मानव जीवन जोडिएको हुन्छ- यो कुरा हामी नबिर्सौँ।
कुनै पनि प्रणाली पूर्ण हुँदैन, तर प्रत्येक प्रणाली सुधार गर्न सकिन्छ। तपाईंहरूमा यो सुधारको यात्रालाई अगाडि बढाउने क्षमता छ भन्नेमा म पूर्ण रूपमा विश्वस्त छु। तपाईंहरूसँग मन्त्रीका रूपमा काम गर्न पाउनु मेरो लागि सम्मानको कुरा रह्यो। हामीले सँगै हासिल गरेका उपलब्धिहरूप्रति म कृतज्ञ छु, र भविष्यमा तपाईंहरूले अझ ठुलो सफलता हासिल गर्नुहुनेछ भन्ने विश्वास राख्दछु।
तपाईं हामी सबै स्वास्थ्य क्षेत्रका नेता हौँ, त्यसैले म नेतृत्वबारे एक वाक्य भन्न चाहन्छु।
'Leadership is temporary, but the duty to safeguard our people's health is enduring- let us carry it forward with courage and determination'
हामी सबै 'कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन' को मूल मन्त्र पछ्याउँदै अघि बढौँ, नियतिले सोचे भन्दा बढी फल दिने रहेछ भन्दा अत्युक्ति नहोला। यो मेरो जीवन-अनुभव हो, मैले पाएको हो, भोगेको हो। यो अवसरका लागि भगवान् श्री पशुपतिनाथमा धन्यवाद।
तपाईंहरू सबैमा निरन्तर प्रगतिका लागि हार्दिक शुभकामना। सफल हुनुहोस्, स्वस्थ रहनुहोस्।