काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतम शर्माले आफ्नो ५ महिनाको कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेकी छन्। मन्त्री डा शर्माले धन्यवाद व्यक्त गर्दै ५ बुँदे सुझाव समेत दिएकी छन्।
उनले संकटको समयमा पनि जिम्मेवारी निर्वाह गरी घाइतेहरूको उपचार, वर्गीकरणमा भूमिका खेल्ने कर्मचारी, अस्पताल निर्देशक लगायत सबैमा धन्यवाद समेत व्यक्त गरेकी छन्।
उनले धन्यवादसँगै दिएको ५ बुँदे सुझाव यस्ता छन्
१. हामीले ढिलाइ कम गर्नुपर्छ। समयमै काम हुनु अत्यन्त महत्वपूर्ण छ। जब निर्णयहरू ढिला हुन्छन्, त्यसको असर प्रणालीमा मात्र होइन, जनतामा पर्छ।
२. हामीले प्रक्रियाहरू सरल बनाउनुपर्छ। प्रणालीहरूले कामलाई सहज बनाउनुपर्छ, जटिल होइन। जहाँ सरल बनाउन सकिन्छ, त्यहाँ सरल बनाऔँ।
३. हामीले मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्नुपर्छ, गतिविधिमा होइन, परिणाममा; प्रक्रियामा होइन, प्रभावमा।
४. हामीले जवाफदेहिता सुदृढ गर्नुपर्छ। दोषारोपणको रूपमा होइन, जिम्मेवारीको रूपमा। जब कुनै काम हाम्रो हो, हामीले त्यसलाई पूर्ण रूपमा पूरा गर्नुपर्छ। हामीले सधैँ तत्परता र उद्देश्यको भावना कायम राख्नुपर्छ।
५. सबैभन्दा महत्वपूर्ण कुरा, हामीले किन यो काम गरिरहेका छौँ भन्ने कहिल्यै नबिर्सौँ। हरेक बैठक, हरेक निर्णय, हरेक फाइलको पछाडि एउटा मानव जीवन जोडिएको हुन्छ- यो कुरा हामी नबिर्सौँ।
आफ्नो छोटो कार्यकालमा महत्वपूर्ण कार्यको थालनी तथा स्वास्थ्यका केही पक्षहरुमा सफलता हासिल गर्न सक्षम भएको उनको दाबी छ। बीमाभित्र झण्डै एक दशकदेखि थुप्रिएका विकृतिका चाङहरू मसिनोसँग केलाउन आफू नेतृत्वको सरकार सफल समेत भएको उनको दाबी छ। स्वास्थ्य बीमा सुधारका कार्यहरु अगाडि बढाइएको उनले जानकारी दिएकी छन्।
औषधि व्यवस्था विभागको स्तर वृद्धिको योजना, राष्ट्रिय औषधि प्रयोगशालाका लागि नयाँ भवन निर्माणको गुरु योजना, दुबैका लागि दरबन्दी थप गर्ने कार्य अन्तिम चरणमा पुर्याउनु, मन्त्रालयमा औषधि मामिला महाशाखा स्थापनाको प्रारूप तयार गर्नु महत्वपूर्ण कार्य भएको उनले बताएकी छन्।