काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आफ्नो कार्यकालमा सम्पादन भएका प्रमुख कार्यहरूको 'प्रगति प्रतिवेदन' सार्वजनिक गरेकी छिन्। 'जेन-जी' आन्दोलन पश्चात् गठित सरकारको नेतृत्व सम्हालेकी डा. शर्माले चुनौतीपूर्ण समयमा मन्त्रालयको जिम्मेवारी लिएर केही दूरगामी महत्वका 'क्विक विन्स' कार्यहरू सम्पन्न गरेको दाबी गरेकी छिन्।
प्रतिवेदन अनुसार मन्त्रालयले सेवा प्रवाह र प्रणाली सुदृढीकरणलाई दुई मुख्य पिलरका रूपमा अघि बढाएको थियो।
मन्त्रालयले जेन-जी आन्दोलनका सबै घाइतेहरूको गुणस्तरीय उपचार र राहतलाई उच्च प्राथमिकतामा राखेको छ। यसका लागि 'जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण कार्यविधि २०८२' स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। यस्तै, मस्तिष्कघातको उपचारमा प्रयोग हुने महँगो इन्जेक्सन नि:शुल्क उपलब्ध गराउने गरी स्वास्थ्य सेवा विभागले अस्पतालहरूसँग सम्झौता गर्ने ऐतिहासिक निर्णय समेत यसै अवधिमा भएको छ।
प्रणालीगत सुधार र स्वास्थ्य बीमा
प्रतिवेदनमा उल्लेख भए अनुसार, स्वास्थ्य बीमा कार्यक्रममा रहेका दशकौँदेखिका बेथिति हटाउन मन्त्रालयले विशेष पहल गरेको छ। बीमालाई दिगो बनाउन र दाबी भुक्तानी प्रणालीलाई पारदर्शी बनाउन चालिएका कदमबाट राज्यको ठुलो धनराशि बचत हुने अपेक्षा गरिएको छ। यस्तै, औषधि व्यवस्था विभागको स्तरोन्नति र राष्ट्रिय औषधि प्रयोगशालाको सुदृढीकरणका लागि भौतिक पूर्वाधार र जनशक्तिको खाका तयार पारिएको छ।
विशिष्ट प्राथमिकताका क्षेत्र
डा. गौतमको कार्यकालमा निम्न क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखिएको थियो:
मानसिक स्वास्थ्य: समुदायस्तरसम्म मानसिक स्वास्थ्य सेवा विस्तार।
वैदेशिक रोजगारमा रहेका श्रमिक: वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षाका लागि विशेष संयन्त्रको पहल।
मातृ तथा नवजात शिशु स्वास्थ्य: उच्च जोखिममा रहेका प्रदेशहरूमा मातृ मृत्युदर घटाउने कार्यक्रमहरू।
खरिद तथा आपूर्ति श्रृंखला: औषधि र उपकरण खरिद प्रक्रियालाई ढिलाइमुक्त र पारदर्शी बनाउन सुधार योजना।
अर्थ मन्त्रालयको असहयोग र चुनौती
प्रगति प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री गौतमले स्रोत व्यवस्थापनमा भोग्नुपरेको कठिनाइलाई पनि उजागर गरेकी छिन्। अस्पतालहरूको अत्यावश्यक सेवा सञ्चालनका लागि माग गरिएको ७ अर्ब बजेटमध्ये अर्थ मन्त्रालयले केवल १ अर्ब मात्र निकासा दिएको र हाल 'कुलिङ पिरियड' भन्दै बाँकी रकम रोकेकोमा उहाँले असन्तुष्टि व्यक्त गरेकी छिन्।
आगामी सरकारलाई सुझाव
प्रतिवेदनको अन्त्यमा डा. गौतमले नयाँ आउने स्वास्थ्य मन्त्रीका लागि केही महत्वपूर्ण सुझावहरू पनि दिएकी छिन्। उनले औषधि, स्वास्थ्य बीमा, कर्मचारीको वृत्तिविकास, मेडिकल पर्यटन भिसा, जनशक्ति, स्वास्थ्य व्यवसायी परिषदको सुधार लगायतका विषयमा भएका प्रयास र अगाडि बढाउन सकिने विषयहरुलाई बुँदागत रुपमा सुझाव दिएकी छिन्।
हेरौं पूर्णपाठ