भक्तपुर— काठमाडौं मेडिकल कलेजले दुवाकोटमा अत्याधुनिक स्वास्थ्य सेवासहित नयाँ अस्पताल सञ्चालनमा आएको छ। आफ्नो दोस्रो युनिट यहाँ स्थापना गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्य अघि सारेको छ।
तीन सय शय्याको क्षमतासहित सञ्चालनमा आएको यस अस्पतालले २४ सै घण्टा विशेषज्ञ चिकित्सकमार्फत सेवा प्रदान गर्ने जनाएको छ। मुटु तथा रक्तनलीसम्बन्धी जटिल रोगको उपचारका लागि यहाँ अत्याधुनिक क्याथल्याब सेवा उपलब्ध छ, जसले हृदयघात जस्ता संवेदनशील अवस्थाहरूमा बिना शल्यक्रिया उपचार सम्भव बनाएको छ।
अस्पतालका अनुसार क्याथल्याबमार्फत बन्द भएका रक्तनली खोल्ने, स्टेन्ट राख्ने, पेसमेकर जडान गर्ने र भल्बसम्बन्धी समस्या समाधान गर्ने सेवा प्रदान गरिन्छ। साथै, मस्तिष्कमा हुने रक्तस्राव (ब्रेन हेमरेज) तथा शरीरका अन्य भागका रक्तनलीसम्बन्धी समस्याहरूको समेत उपचार यस प्रविधिबाट गर्न सकिने व्यवस्था गरिएको छ।
त्यस्तै, ईआरसीपी सेवामार्फत पित्तनलीमा जमेको ढुंगा बिना शल्यक्रिया निकाल्न सकिने अस्पतालले जनाएको छ। मिर्गौला तथा कलेजो प्रत्यारोपणका लागि छुट्टाछुट्टै तर आपसमा जोडिएका अत्याधुनिक अपरेसन कक्षहरू निर्माण गरिएको छ, जसले जटिल शल्यक्रियालाई सहज बनाउने विश्वास लिइएको छ।
आमा र शिशुको स्वास्थ्यलाई प्राथमिकता दिँदै स्त्री तथा प्रसूति सेवा तथा नवजात शिशुका लागि भेन्टिलेटरसहितको एनआईसीयू सुविधा उपलब्ध गराइएको छ। साथै, इन्डोस्कोपी, कोलोनोस्कोपी, एक्स–रे, एमआरआई र सीटी स्क्यान जस्ता आधुनिक परीक्षण सेवाहरूले रोग पहिचानमा सघाउनेछन्।
निःशुल्क डायलाइसिस सेवा तथा नेपाल सरकारका स्वास्थ्य बिमा, सामाजिक सुरक्षा र विपन्न नागरिकका लागि लक्षित कार्यक्रमहरूसमेत अस्पतालमा लागू गरिएको छ।
अस्पतालले सुविधा सम्पन्न क्याबिन, २४ सै घण्टा आकस्मिक सेवा, औषधालय र एम्बुलेन्स सेवा उपलब्ध गराउँदै स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।