काठमाडौं- नेपालमा आपतकालीन स्वास्थ्य सेवा सुदृढ गर्ने उद्देश्यसहित नेपाल मेडिसिटी हस्पिटलमा स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रेट्रिभल सर्विस (ईएमआरएस) सँगको सहकार्यमा “एड्भान्स्ड ट्रेनिङ एण्ड ट्रेनिङ अफ ट्रेनर्स (टोट) प्रोग्राम इन रिट्रिभल मेडिसिन” सुरु भएको छ।
मार्च २३ देखि २७ सम्म सञ्चालन हुने यस कार्यक्रमको उद्घाटन सत्र आइतबार गरिएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त कार्यक्रमको उद्देश्य नेपालभर गम्भीर बिरामीहरूको सुरक्षित र प्रभावकारी स्थानान्तरण (ट्रान्सफर) क्षमता अभिवृद्धि गर्नु रहेको अस्पतालका अध्यक्ष डा उपन्द्र महतोले जानकारी दिए । यस तालिममा हेलिकोप्टरमार्फत उद्धार (एयरलिफ्ट), बिरामी व्यवस्थापन, तथा विशेष स्थानान्तरण प्रक्रियामा केन्द्रित अभ्यासहरू समावेश छन्।
व्यावहारिक (ह्यान्ड्स-अन) सिमुलेसनमार्फत स्वास्थ्यकर्मीहरूको सीपलाई अझ परिष्कृत बनाउँदै आपतकालीन प्रतिक्रिया सेवालाई सुदृढ पार्ने लक्ष्य राखिएको अस्पतालले जनाएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितासहित सञ्चालन भइरहेको यस पहलले सरोकारवाला निकायहरूबीच सहकार्यलाई प्रोत्साहन गर्दै नेपालका आपतकालीन स्वास्थ्य सेवाहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा डा. अमित टोमरले नेपालमा इएमआरएस सेवाको परिचय गराएका थिए। त्यसैगरी डा. सञ्जय कार्कीले फ्याकल्टी डेभलपमेन्टबारे प्रस्तुति दिएका थिए भने हाईवे इएमएस सम्बन्धी जानकारी पनि प्रस्तुत गरेका थिए।कार्यक्रममा नेपालमा इएमएसको भविष्यका सम्भावनाबारे पनि छलफल गरिएको थियो।
जापानको उन्नत इएमएस प्रणालीबारे सहायक प्राध्यापक ताकाशी इशिजाकीले प्रस्तुति दिएका थिए भने स्कटल्याण्डको एमआरएस/इएमआरएस प्रणालीबारे डा. स्टीफन हेर्न्सले जानकारी दिएका थिए।
कार्यक्रमको हाइलाइट सत्रपछि सहजीकरण सत्रमा डा. उपेन्द्र महतो र डा. अमित टोमर सहभागी भएका थिए।
संस्कृतिक झलक स्वरूप लाखे नाच प्रस्तुत गरिएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिताले नेपालमा आपतकालीन चिकित्सा सेवाको स्तर अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।


