काठमाडौं- विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं) ले क्षयरोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन खुद्रा औषधि व्यवसायीहरूलाई औपचारिक रूपमा राष्ट्रिय साझेदारका रूपमा समावेश गर्न सरकारसँग आग्रह गरेको छ।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा क्षयरोग (टीबी) अझै पनि विश्वकै प्रमुख संक्रामक घातक रोगमध्ये एक रहेको उल्लेख गर्दै विश्व स्वास्थ्य संगठन को तथ्यांक उद्धृत गरेको छ। सन् २०२४ मा विश्वभर करिब १ करोड ७ लाख मानिस टीबीबाट प्रभावित भएका थिए भने करिब १२.३ लाख जनाको मृत्यु भएको अनुमान गरिएको छ।
डब्लुएचओले यस वर्षको विश्व क्षयरोग दिवसका लागि “Yes! We can end TB! - Led by countries. Powered by people.” भन्ने सन्देश अघि सारेको सन्दर्भमा संघले राजनीतिक इच्छाशक्ति, सामुदायिक सहभागिता र बहु-क्षेत्रीय सहकार्य अपरिहार्य रहेको जनाएको छ।
नेपालमा पनि क्षयरोग गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीकै रूपमा कायम रहेको उल्लेख गर्दै संघले औषधि प्रतिरोधी क्षयरोग (डीआर-टीबी) बढ्दो चिन्ताको विषय बनेको जनाएको छ। यस्तो अवस्थामा समयमै पहिचान, परीक्षणमा पहुँच र उपचार निरन्तरता सुनिश्चित गर्नु अत्यन्त आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।
संघका अनुसार बिरामीहरूमा लामो समयसम्म खोकी, ज्वरो, तौल घट्ने वा राति पसिना आउने जस्ता लक्षण देखिँदा उनीहरू प्रायः सबैभन्दा पहिले नजिकको औषधि पसलमा पुग्ने गर्छन्। त्यसैले खुद्रा औषधि व्यवसायीहरूलाई टीबी नियन्त्रणको “पहिलो सम्पर्क बिन्दु” का रूपमा औपचारिक रूपमा मान्यता दिनुपर्ने माग गरिएको छ।
यस सन्दर्भमा संघले JANTRA सँगको सहकार्यमा विभिन्न क्षेत्रमा टीबी सम्भावित बिरामी पहिचान, परीक्षणका लागि रेफरल र समुदायस्तरमा सक्रिय परिचालन गर्दै आएको जनाएको छ। यस्तो अभ्यासले early detection, referral र उपचार पालना (adherence) मा सकारात्मक परिणाम दिएको दाबी गरिएको छ।
संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र लगायत सरोकारवाला निकायसँग मोडलमार्फत औषधि व्यवसायीहरूलाई राष्ट्रिय कार्यक्रममा समेट्न आग्रह गरेको छ।
प्रेस विज्ञप्तिमा संघले सात बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरेको छ। जसमा TB लक्षण भएका बिरामीको प्रारम्भिक पहिचान र रेफरल, जनचेतना अभिवृद्धि, उपचार बीचमै नछोड्न प्रेरणा, औषधिको जिम्मेवार प्रयोग, डीआर-टीबी न्यूनीकरण तथा नीति संवादमा सक्रिय सहभागिता जनाउने उल्लेख छ।
संघले “क्षयरोग अन्त्य केवल सरकारी स्वास्थ्य संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व हो” भन्दै समुदायसँग प्रत्यक्ष जोडिएको औषधि व्यवसायी सञ्जाललाई राष्ट्रिय रणनीतिमा समेट्नुपर्नेमा जोड दिएको छ।
विश्व क्षयरोग दिवस २०८२ को सन्दर्भमा संघले “क्षयरोग पहिचान गरौँ, परीक्षण गरौँ, उपचार पूरा गरौँ — TB मुक्त नेपाल बनाऔँ” भन्ने सन्देशसहित सरकार, समुदाय र निजी क्षेत्रबीच समन्वित सहकार्यको आवश्यकता औंल्याएको छ।
