काठमाडौं - नेपाल औषधि व्यवसायी संघ (एपोन)का अध्यक्ष विप्लव अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
अधिकारीले औषधि उत्पादक क्षेत्रको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका हुन्। उनले वस्तुगत तर्फको उम्मेदवार संघकै प्रतिष्ठासँग जोडिएको विषय भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरेका छन्।
“हामी सबैले मेहनत गर्यौं भने सहजै चुनाव जित्न सक्छौं,” उनले भने, “लामो समयपछि संघलाई महासंघमा पुनः स्थापित गर्ने अवसर आएको छ, सबै मिलेर यसलाई सफल बनाऔं।”
एपोनमा सदस्यदेखि अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका अधिकारीले नेतृत्व क्षमता प्रदर्शन गरिसकेका छन्। उद्यमशीलता प्रवर्द्धन र उद्योगी व्यवसायीको हकहितका पक्षमा सक्रिय उनको भूमिकाका कारण उनलाई सफल नेतृत्वका रूपमा हेरिन्छ।
उनको उम्मेदवारीले औषधि क्षेत्रको आवाज महासंघभित्र थप सशक्त रूपमा उठ्ने अपेक्षा गरिएको छ।