काठमाडौं- नेपाल मेडिकल काउन्सिलले दर्तावाल चिकित्सकहरूलाई लक्षित गर्दै अत्यन्त जरुरी सूचना जारी गरेको छ, जसमा चिकित्सकहरूले आफ्नो नाम र दर्ता प्रमाणपत्र केवल आफू प्रत्यक्ष रूपमा कार्यरत स्वास्थ्य संस्थाहरूमा मात्र प्रयोग गर्नुपर्ने स्पष्ट निर्देशन दिएको छ।
काउन्सिलले मंगलबार प्रकाशित सूचनामा चिकित्सकहरूले आफ्नो एनएमसी रजिस्ट्रेसन सर्टिफिकेट आफू संलग्न नरहेका क्लिनिक वा अस्पतालमा राख्दा सर्वसाधारणमा भ्रम उत्पन्न हुने र यसले व्यावसायिक आचारसंहिताको उल्लंघन गर्न सक्ने उल्लेख गरेको छ।
सूचनाअनुसार, कतिपय अवस्थामा चिकित्सकको नाम र दर्ता नम्बर उनी कार्यरत नभएका संस्थामा प्रयोग भइरहेका कारण गलत सन्देश जाने तथा बिरामीहरूलाई भ्रममा पार्ने जोखिम बढेको देखिएको छ। यसले भविष्यमा कानुनी तथा प्रशासनिक समस्या निम्त्याउन सक्ने भएकाले काउन्सिलले सचेत रहन आग्रह गरेको हो।
काउन्सिलले सबै चिकित्सकहरूलाई आफ्ना विवरणहरूको दुरुपयोग हुन नदिन, आफू कार्यरत नरहेका पुराना स्वास्थ्य संस्थाबाट आफ्नो नाम, प्रमाणपत्र र दर्ता नम्बर तुरुन्त हटाउन निर्देशन दिएको छ। साथै, साइनबोर्ड, विज्ञापन तथा दर्ता पुस्तकमा आफ्नो विवरणको सही प्रयोग भइरहेको छ वा छैन भन्ने विषयमा समेत नियमित रूपमा निगरानी गर्न भनिएको छ।
काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले जारी गरेको सूचनामा चिकित्सकहरूलाई व्यावसायिक नैतिकता कायम राख्दै जिम्मेवार ढंगले आफ्नो विवरण प्रयोग गर्न विशेष अनुरोध गरिएको छ।
