दाङ- दाङको घोराही उपमहानगरपालिका–३, बर्गदुवास्थित ३०० शय्याको संजीवनी टिचिङ हस्पिटलले अत्याधुनिक एमआरआई सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालले बुधबारदेखि विधिवत् रूपमा यो सेवा प्रारम्भ गरेको हो।
अस्पतालका रेडियोलोजी विभाग प्रमुख एवं कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. जेशन केसीका अनुसार अस्पतालले जर्मनीको सिमेन्स कम्पनीको १.५ टेस्ला क्षमताको अत्याधुनिक मेसिन जडान गरेको छ। अस्पतालका अनुसार यो मेसिन नेपालकै पहिलो 'हिलियम फ्री' प्रविधिको स्क्यानर हो।
'यसमा 'डिप रिजोल्भ' नामक एआई प्रविधि प्रयोग गरिएको छ, जसले गर्दा स्क्यान गर्ने समय छोटो हुनुका साथै इमेजको गुणस्तर उत्कृष्ट आउँछ,' डा. केसीले भने, 'विशेषगरी मुटुको एमआरआई गर्दा अटोमेटेड पोजिसनिङ हुने भएकाले यो निकै छिटो र प्रभावकारी छ।'
अस्पतालमा सोही कम्पनीको १९२ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन समेत उपलब्ध छ। यसमा 'टिन फिल्टर' प्रयोग भएकाले अनावश्यक रेडिएसन रोकिने र न्युनतम रेडिएसनमा पनि उच्च गुणस्तरको रिपोर्ट निस्कने अस्पतालको दाबी छ। हाल अस्पतालको रेडियोलोजी विभागमा डिजिटल एक्सरे, भिडियो एक्सरे, म्यामोग्राफी, सिटी स्क्यान र एमआरआई सेवा पूर्ण रूपमा उपलब्ध छन्। यो सेवा सुरु भएसँगै साविक राप्ती र आसपासका जिल्लाका बिरामीहरूले विशेषज्ञ रेडियोलोजी सेवाका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ।
विशिष्टीकृत सेवा र भविष्यको योजना
अस्पतालका मेडिकल डाइरेक्टर एवं कन्सल्टेन्ट फिजिसियन डा. बाचसपति सुवेदीले अस्पतालले हाल जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसूति, जनरल सर्जरी, मानसिक तथा नशारोग, छालारोग, बालरोग, ईएनटी, डेन्टल, आँखा र फिजियोथेरापी जस्ता विशेषज्ञ सेवाहरू प्रदान गरिरहेको जानकारी दिए।
'हामीसँग हाल आईसीयू, एनआईसीयू, पीआईसीयू, एसआईसीयू र एचडीयू सेवाहरू सञ्चालनमा छन्। छिट्टै हेमोडायलासिस, क्याथ ल्याब र सीसीयू सेवा पनि सुरु गर्दैछौँ,' डा. सुवेदीले भने। अस्पतालमा ८ वटा मोडुलरसहित ११ वटा अत्याधुनिक शल्यक्रिया कक्षहरू रहेका छन्। अस्पतालले आगामी दिनमा कार्डियोलोजी, न्यूरोलोजी र युरोलोजी जस्ता 'सुपर स्पेसियालिटी' सेवाहरू थप्ने योजना बनाएको छ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाका अनुसार करिब ५ विगाहा क्षेत्रफलमा फैलिएको यस अस्पतालमा झण्डै ४ अर्ब रुपैयाँ लगानी भएको छ। हाल यहाँ ३०० जनाभन्दा बढी जनशक्ति कार्यरत छन्।
अस्पतालले आगामी शैक्षिक सत्रदेखि सीटीईभीटी र विश्वविद्यालय अन्तर्गतका नर्सिङ लगायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको छ। 'तीन वर्षभित्र चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र बीडीएस जस्ता कार्यक्रमहरू पनि सुरु गर्ने हाम्रो लक्ष्य छ,' रोकाले बताए।
अस्पतालका सञ्चालक अध्यक्ष खुमाप्रसाद अर्यालको लगानीमा निर्माण भएको यो छैटौँ अस्पताल हो। लुम्बिनी प्रदेशकै स्वास्थ्य र शिक्षाको केन्द्र बन्ने लक्ष्यका साथ यस अस्पतालले आफ्नो सेवालाई विस्तार गरिरहेको छ।