बागलुङ- बागलुङमा चालु आर्थिक वर्षको ८ महिनामा क्षयरोगका कारण १८ जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय बागलुङले मंगलबार विश्व क्षयरोग दिवसका अवसरमा आयोजित पत्रकार अन्तरक्रियामा सो तथ्याङ्क सार्वजनिक गरेको हो।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक प्रविण शर्माका अनुसार जिल्लाको गलकोट नगरपालिकामा सबैभन्दा बढी ८ जनाको मृत्यु भएको छ। यस्तै, बडिगाड गाउँपालिकामा ५, ढोरपाटन नगरपालिकामा २, बागलुङ नगरपालिकामा १, काठेखोला गाउँपालिकामा १ र निसीखोला गाउँपालिकामा १ जनाको मृत्यु भएको छ। गत आर्थिक वर्षमा जिल्लाभर कुल १९ जनाको मृत्यु भएको थियो।
चालु आर्थिक वर्षको साउनयता जिल्लामा १४४ जना क्षयरोगका बिरामी फेला परेका छन्, जसमा ८६ पुरुष र ५८ महिला छन्। पालिकागत आधारमा बडिगाड गाउँपालिकामा सबैभन्दा बढी ३८ जना संक्रमित छन् भने बरेङ गाउँपालिकामा सबैभन्दा कम १ जना बिरामी रहेका छन्।
अघिल्लो आर्थिक वर्षमा २६४ जना बिरामी रहेको बागलुङमा यस वर्ष परीक्षणको दायरा बढेसँगै नयाँ बिरामी पत्ता लाग्ने दर पनि वृद्धि भएको स्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए।
क्षयरोग नियन्त्रणका लागि जिल्लाका स्वास्थ्य संस्थाहरूबाट निःशुल्क परीक्षण र औषधि वितरण भइरहेको छ। हाल बागलुङ नगरपालिका, गलकोट, काठेखोला र बडिगाड गाउँपालिकामा 'क्षयरोग मुक्त अभियान' समेत सञ्चालनमा छ।
'क्षयरोग लागेपछि नियमित औषधि सेवन नगर्दा जोखिम झनै बढ्छ, त्यसैले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्नु अनिवार्य छ,' निरीक्षक घिमिरेले भने। 'माइकोब्याक्टेरियम ट्युबरकुलोसिस' नामक कीटाणुबाट लाग्ने यो सरुवा रोग श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सर्दछ। विशेषगरी कुपोषण भएका वा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूमा यसको जोखिम बढी हुन्छ। तथ्याङ्क अनुसार एक उपचार नगराएको क्षयरोगीले वर्षमा १० देखि १५ जनासम्म स्वस्थ व्यक्तिलाई रोग सार्न सक्छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा 'अविरल' ले क्षयरोग नियन्त्रण र जनचेतना फैलाउन सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत समिता घिमिरेले गरेकी थिइन्।