काठमाडौं- नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि रोकिएको निर्वाचन प्रक्रिया सुचारु हुने भएको छ। आफ्नो उम्मेदवारी कायम गरिनुपर्ने माग गर्दै चिकित्सकहरू डा. अजयकुमार मिश्र र डा. विनोदकुमार महासेठ लगायतले दायर गरेको रिटमा उच्च अदालत पाटनले पक्षमा फैसला गरेसँगै निर्वाचनको बाटो खुलेको हो।
उच्च अदालत पाटनका न्यायाधीशद्वय डालकुमार खड्का र रमेशप्रसाद ज्ञवालीको संयुक्त इजलासले उक्त रिट जारी हुने फैसला सुनाएको हो। यो फैसालसँगै चिकित्सक संघको निर्वाचन प्रक्रिया अगाडि बढ्ने बाटो खुला भएको छ।
यसअघि निर्वाचन समितिले उम्मेदवारीका सम्बन्धमा गरेको निर्णयविरुद्ध गत ९ पुसमा अदालतमा रिट दायर गरिएको थियो।
अदालती प्रक्रियाका कारण केही समयदेखि ठप्प रहेको निर्वाचन कार्यक्रम अब द्रुत गतिमा अघि बढ्ने देखिएको छ। केही दिनअघि सम्पन्न चिकित्सकहरूको सर्वपक्षीय भेलाले अदालतको फैसला आएको खण्डमा चैतभित्रै निर्वाचन सम्पन्न गर्ने अनौपचारिक सहमति गरेको थियो।
सहमति अनुसार उपत्यकाबाहिर आगामी २१ र २२ चैतमा तथा काठमाडौँ उपत्यकामा २८, २९ र ३० चैतमा निर्वाचन गर्ने योजना बनाइएको छ। अदालतको आजको फैसलापछि निर्वाचन समितिले एक–दुई दिनभित्रै औपचारिक सूचना जारी गरी निर्वाचनको मिति तय गर्ने बुझिएको छ।
यो फैसलासँगै चिकित्सक संघको नेतृत्व चयनका लागि देखिएको लामो समयको अन्योल अन्त्य भएको छ।