काठमाडौं — नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन मिति तय गरिएको छ। यसअघि स्थगित गरिएको निर्वाचन अब पुनः सञ्चालन हुने भएको हो।
संघको निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार पाटन उच्च अदालतको आदेशलाई मध्यनजर गर्दै २०८२ चैत ११ गते बसेको बैठकले नयाँ मिति निर्धारण गरेको हो। अदालतमा दायर भएका विभिन्न मुद्दाहरूको फैसलापछि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरिएको जनाइएको छ।
निर्धारित कार्यतालिका अनुसार काठमाडौं उपत्यका बाहिर २०८२ चैत २८ र २९ गते मतदान हुनेछ। त्यस्तै काठमाडौं उपत्यका भित्र भने २०८३ वैशाख १०, ११ र १२ गते निर्वाचन सम्पन्न गरिनेछ।
प्रमुख निर्वाचन अधिकृत डा. प्रणय रत्न शाक्यले सम्बन्धित सबै पक्षलाई निर्वाचनका लागि तयारी अवस्थामा रहन आग्रह गरेका छन्। साथै निर्वाचनसँग सम्बन्धित थप विवरण चाँडै सार्वजनिक गरिने पनि सूचनामा उल्लेख गरिएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।