काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा शुक्रबार नयाँ मन्त्रिमण्डल गठन हुँदैछ। नयाँ मन्त्रीहरूको शपथ र जिम्मेवारी बाँडफाँटको तयारी तीव्र भसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी निशा मेहताले पाउने लगभग निश्निचत भएको छ।
जेनजी आन्दोलनका क्रममा रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको मुख्य भवन आगलागीबाट क्षतिग्रस्त भएपछि मन्त्रालयका दैनिक कामहरू अहिले सिंहदरबारभित्रको अस्थायी संरचनाबाट सञ्चालन भइरहेका छन्। नवनियुक्त स्वास्थ्य मन्त्रीले सोही सिंहदरबार परिसरमा बनाइएको अस्थायी संरचनामा पदबहाली गर्नेछन्।
सिंहदरबारभित्रै निर्देशन र परिचयात्मक बैठक
यसअघि मन्त्रालयमा हलको अभाव हुँदा पदबहाली पछिको परिचयात्मक बैठक नेपाल हेल्थ रिसर्च काउन्सिल (रामशाहपथ) मा गर्ने तयारी गरिएको थियो। तर, मन्त्रालयले सिंहदरबार परिसरभित्रै एउटा सानो टहरामा 'अस्थायी हल' निर्माण गरेपछि अब मन्त्रीको पदबहाली र कर्मचारीहरूलाई दिइने पहिलो निर्देशनको कार्यक्रम सिंहदरबारभित्रै हुने निश्चित भएको छ।
मन्त्रालयका एक कर्मचारीका अनुसार, 'भवन अभावका कारण बाहिर बैठक गर्ने सोच भए पनि तत्कालका लागि सिंहदरबारभित्रै सानो टहरामा अस्थायी हलको व्यवस्था गरिएको छ। नयाँ मन्त्रीले सोही ठाउँबाट आफ्नो कार्यभार सुरु गर्नुहुनेछ।'