काठमाडौं - नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आफ्नो प्राथमिकता जनता र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउनेमा रहने बताएकी छन्।
पदबहालीपछि मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउन सकेमा मात्रै उनीहरुले शत प्रतिशत काम गर्न सक्ने र जनताले उचित सेवा पाउने बताएकी हुन्।
उनले नातावाद,कृपावाद र परिवारवादको प्रभावबाट आफू टाढा रहने र कर्मचारीहरुलाई पनि टाढा रहन निर्देशन समेत दिईन्। कर्मचारीहरुको कार्यक्षमता अनुसारका निर्णय लिइने उनले बताइन्।
स्वास्थ्य क्षेत्रमा सामान्य मर्मत सम्भार गरेर पनि चल्ने सामग्रीहरुलाई खरिद गर्नतर्फ बढी लाग्ने परिपाटी रहेको उनको धारणा छ । सामानको मर्मत सम्भारका लागि बजेट छुटाउने परिपाटी नभएको बताउँदै उनले मर्मततर्फ बजेट छुट्याएमा खरिद कम हुने स्थिती आउने बताइन्।
नर्सहरुले आफ्नो विशिष्टीकृत क्षमता अनुसार काम काम नपाएको तथा चिकित्सकहरुको समेत तलब लगायतका सेवा सुविधामा समस्या रहेको उनले बताइन्।
पछिल्लो समय स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सामान्य हौसला समेत नहुँदा उनीहरु विदेशिने स्थिती रहेको उनले बताईन्। यस्तो स्थितीमा स्वास्थ्य जनशक्तिलाई स्वदेशमा नै बस्न सक्ने वातावरणका लागि हौशला प्रदान गर्नुपर्ने उनको धारणा छ।
अध्ययन बिना हाललाई विशेष केही निर्णय नगर्ने मन्त्री मेहताले बताइन्।