काठमाडौं- निशा मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रूपमा पदभार ग्रहण गरेपछि तत्काल कुनै नीतिगत निर्णय गरिनन्। यसअघि नवनियुक्त मन्त्रीले पदबहालीपछि लगत्तै पहिलो निर्णय गर्ने चलन थियो।
नवनियुक्त मन्त्री मेहताले अध्ययन गरेपछि मात्र निर्णयहरु गर्दै जाने जानकारी दिइन्। मन्त्रालय सम्हालेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले पर्याप्त अध्ययन र अवस्था बुझिसकेपछि मात्र निर्णय गर्ने धारणा राखिन्।
'म मन्त्रालयमा नयाँ छु, यहाँका प्राथमिकता, चुनौती र संरचनालाई राम्ररी बुझ्न आवश्यक छ,' उनले भनिन्, 'अध्ययन नगरी हतारमा निर्णय गर्दा दीर्घकालीन प्रभाव पर्न सक्छ, त्यसैले आवश्यक परामर्श र समीक्षा पछि मात्रै अगाडि बढ्छु।'
स्वास्थ्य क्षेत्रका विविध जटिलता, सेवा प्रवाहमा देखिएका समस्या, जनशक्ति अभाव तथा नीतिगत कमजोरीबारे आफूले नजिकबाट अध्ययन गर्ने उनले बताइन्। नर्सिङ पृष्ठभूमि भएकी मेहताले स्वास्थ्य प्रणालीका व्यावहारिक पक्षबारे अनुभव रहेको उल्लेख गर्दै त्यसलाई नीतिगत सुधारमा उपयोग गर्ने प्रतिबद्धता जनाइन्।
उनले मन्त्रालयका उच्च अधिकारीहरूसँग छलफल सुरु गरिसकेको र छिट्टै प्राथमिकताका आधारमा कार्ययोजना सार्वजनिक गर्ने संकेत पनि दिइन्। 'पहिले तथ्य र अवस्था बुझ्छु, त्यसपछि मात्रै ठोस निर्णय लिन्छु,' उनले भनिन्।
गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्री हुँदा पनि पदबहालीका दिन नै पहिलो निर्णय गरेका थिएनन्।