काठमाडौं — नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समिति (२०८२–२०८५) को निर्वाचन कार्यक्रम फेरि सारिएको छ। संशोधित तालिका अनुसार संघले शाखा र केन्द्रीय तहको निर्वाचनका लागि नयाँ मिति सार्वजनिक गर्दै आचारसंहिता र निर्वाचन प्रक्रिया पनि तय गरेको छ।
संघका अनुसार शाखा तहको निर्वाचन २०८३ वैशाख ४ गते शुक्रबार र ५ गते शनिबार सञ्चालन हुनेछ। मतदान बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म हुनेछ।
त्यस्तै, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन २०८३ वैशाख १८ र १९ गते (शुक्रबार र शनिबार) तोकिएको छ। यसमा पनि मतदान समय बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म रहनेछ।
यसअघि सार्वजनिक गरिएको तालिका अनुसार काठमाडौं उपत्यका बाहिर २०८२ चैत २८ र २९ गते मतदान हुने भनिएको थियो भने उपत्यकाभित्र वैशाख १०, ११ र १२ गते निर्वाचन गर्ने योजना थियो। तर, विभिन्न कारणले सो तालिका परिवर्तन गरिएको संघले जनाएको छ।
निर्वाचनलाई निष्पक्ष, पारदर्शी र मर्यादित बनाउन संघले विस्तृत आचारसंहिता लागू गरेको छ। आचारसंहितामा उम्मेदवार र समर्थकहरूले प्रचारप्रसार गर्दा मर्यादा पालना गर्नुपर्ने, कुनै पनि प्रकारको प्रलोभन, दबाब वा अनुचित प्रभाव प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।