काठमाडौं- शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची सार्वजनिक गरेको बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले नेपाललाई आरोग्य पर्यटनको हब बनाउने योजना अघि सारेको छ।
पूर्वीय दर्शन, योग, ध्यान र प्राकृतिक चिकित्सालाई अर्थतन्त्रको बलियो आधार बनाउँदै सरकारले आगामी १५ दिनभित्रै 'आरोग्य पर्यटन रणनीति' जारी गर्ने तयारी गरेको छ।
आरोग्य पर्यटनलाई केवल स्वास्थ्यसँग मात्र नजोडी 'आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डा' बनाउने सरकारको लक्ष्य छ।
शनिबार साँझ सार्वजनिक गरिएको मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको कार्यसूची अनुसार सरकारको कार्ययोजना अनुसार नेपालको मौलिक पद्धति— योग, ध्यान, र आयुर्वेदलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गरिनेछ। यसका लागि आवश्यक नीतिगत र संरचनागत कार्य अघि बढाउन १५ दिनको समयसीमा तोकिएको छ। नेपाललाई प्राकृतिक उपचार र आध्यात्मिक शान्तिको केन्द्रका रूपमा विकास गरी विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।
नेपालको कुटनीतिक पहलमा संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई 'अन्तर्राष्ट्रिय आरोग्य दिवस'का रूपमा मनाउने निर्णय गरेको छ।
यसका साथै सरकारले सन् २०२७ मा ‘नेपाल वेलनेस इयर’ मनाउने निर्णय पनि गरेको छ।
'नेपाललाई आरोग्य पर्यटन ( पूर्वीय दर्शन, ध्यान, योग, प्राकृतिक चिकित्सा लगायत) को हब बनाउन १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने। साथै, नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेकोमा उक्त प्रस्तावमा मतदान गर्ने सबै सदस्य राष्ट्रहरूलाई धन्यवाद ज्ञापन गर्ने । आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाको रूपमा लिई “Nepal Wellness Year 2027” मनाउन अन्तरनिकाय समन्वय संयन्त्र बनाउने,' शासकीय सुधारका लागि १०० बुँदे कार्यसूचीमा उल्लेख छ।