काठमाडौँ - कोभिड–१९ विरुद्धका सुरक्षा सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लागेका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटासहित आठ जनालाई विशेष अदालतले सफाइ दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले गत ८ मंसिरमा दायर गरेको मुद्दामा विशेष अदालत ले १५ चैतमा फैसला सुनाउँदै सबै प्रतिवादीलाई दोषमुक्त ठहर गरेको हो।
न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला को संयुक्त इजलासले खरिद प्रक्रियामा बदनियत पुष्टि हुने पर्याप्त वस्तुनिष्ठ प्रमाण नभएको ठहर गर्दै सफाइ दिएको हो।
अख्तियारले उनीहरूमाथि मिलेमतोमा चौथो कम कबोल गर्ने कम्पनीसँग सम्झौता गरी ३१ लाख १७ हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएको थियो। कम कबोल गर्ने कम्पनीलाई जानीजानी अयोग्य ठहर गराई अनियमितता गरेको दाबी पनि गरिएको थियो।
अदालतको फैसलासँगै निलम्बनमा रहेका डा. सापकोटा, लेखा अधिकृत राधाकृष्ण श्रेष्ठ, फार्मेसी सुपरभाइजर राजेश्वर रंजितकार, रेफ्रिजेनेटर टेक्निसियन रविकुमार महतो, बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत नेत्रनरसिंह कार्की तथा जनमुक्ति हेल्थ इन्टरप्राइजेजका सञ्चालक नवराज श्रेष्ठ पुनः नियमित कार्यमा फर्किन सक्ने भएका छन्।