काठमाडौं- कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई रणनीतिक योजनामा राखेर बजेट विनियोजन गर्न कैलाली-५ का सांसद डा आनन्द बहादुर चन्दले प्रस्ताव गरेका छन्। सुदूरपश्चिमका सांसदहरुसँगको छलफलमा सांसद चन्दले 'नीति प्रस्ताव' नै पेश गरेका थिए।
जहाँ उनले गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रणनीतिक महत्वको रहेको बताएका हुन्। उनले भने, 'यो विश्वविद्यालयले स्वास्थ्य सेवा पहुँच विस्तार, दक्ष जनशक्ति उत्पादन, वैदेशिक पलायन न्यूनिकरण, र क्षेत्रीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ।' उक्त विषयलाई सुदूरपश्चिमका अन्य सांसदले पनि जोड दिएका थिए।
जवाफमा शाहले उक्त प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएका छन्। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विषयलाई प्राथमिकतामा राखेर छलफल गर्ने प्रतिक्रिया दिएको उनले बताएका छन्। उनले भने, ‘गेटाको विषयमा अहिले हस्ताक्षर गर्नुपरे पनि तयार छु । कहिले गरौँ ?’ सोमबार सुदूरपश्चिमका विभिन्न निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदसँग प्रधानमन्त्री शाहले छलफल गरेका हुन्।
उनले सुदूरपश्चिम यसअघि विकासमा पछि परेको र चिकित्सा शिक्षा अध्ययन/अध्यापन नहुने एकमात्र प्रदेश बनेको उल्लेख गर्दै उक्त विश्वविद्यालय सञ्चालनमा जोड दिएका हुन्।
उनको नीति प्रस्तावमा चारवटालाई प्राथमिक लगानी क्षेत्रहरू बनाएर बजेट विनियोजन गर्नुपर्ने उल्लेख छ। पहिलो सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय: रु. २ अर्ब ५८ करोड, दोस्रो विकास संस्था रु. १० करोड, तेस्रो फाप्ला क्रिकेट मैदान रु. ४ अर्ब र पाँचौंमा सिकलसेल परीक्षण कार्यक्रम रु. २ करोड माग गरिएको छ।