काठमाडौँ- विभिन्न निजी अस्पतालहरूमा कार्यरत चिकित्सकहरूले महिनौँदेखि तलब नपाएको भन्दै नेपाल मेडिकल काउन्सिल सदस्य डा. छवि पन्थीले सामान बेचेर समेत असुल्ने चेतावनी दिएका छन्।
अस्पताललाई चेतावनी दिँदै उनी लेख्छन्, 'सामान बेचेर दामासाही नै गरेर भए पनि तलब लिइने छ, कुरो बुझ्नु भो ?'
उनका अनुसार काठमाडौँस्थित फ्रन्टलाइन अस्पतालमा चिकित्सकहरूले ४ महिनादेखि तलब पाएका छैनन् भने ललितपुरको अल्का अस्पताल र स्टार अस्पतालमा ८–८ महिनासम्म तलब रोकिएको अवस्था छ। बढ्दो महँगीबीच चिकित्सकहरू आर्थिक संकटमा परेको उनले उल्लेख गरे।

डा. पन्थीले सञ्चारमाध्यमप्रति पनि असन्तुष्टि जनाउँदै बिरामीमाथि हुने अन्यायका समाचार व्यापक रूपमा आउने गरे पनि चिकित्सकहरू आफैं शोषणमा परेको विषय ओझेलमा पर्ने गरेको बताए। 'डाक्टर पनि लुटिएका छन्, तर त्यसतर्फ ध्यान गएको छैन,' उनले भने।
उनले चिकित्सकहरूको बस्तुगत अवस्था गम्भीर बन्दै गएको उल्लेख गर्दै सरकारप्रति पनि प्रश्न उठाए। 'सरकारले पीडा बुझ्नुको साटो उल्टै डन्डा चलाउने काम गरिरहेको छ,' उनले आरोप लगाए।