पेन्सिलभेनिया, अमेरिका- पेन्सिलभेनिया मेडिकल सोसाइटीले नेपाली चिकित्सक डा. शरद वलीलाई विशेष सम्मान प्रदान गरेको छ। राज्यभरका चिकित्सकहरूको प्रतिनिधित्व गर्ने यस व्यावसायिक संस्थाले बिरामी र समुदायप्रतिको असाधारण समर्पणका लागि डा. ओलीलाई सम्मान गरेको हो।
मार्च ३० मा मनाइने 'डाक्टर दिवस'को अवसरमा पेन्सिलभेनिया मेडिकल सोसाइटीले नर्थ सेन्ट्रल पेन्सिलभेनिया अन्तर्गत कार्यरत पाँच जना उत्कृष्ट चिकित्सकहरूलाई यस वर्ष सम्मानित गरेको थियो। जसमा डा. ओली पनि परेका छन्। उनलाई आफ्ना सहकर्मी र बिरामीहरूले मनोनयन गरेका थिए।
डा. ओली 'पल्मोनरी एन्ड क्रिटिकल केयर मेडिसिन' (इन्टरनल मेडिसिन) विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ। सम्मानका क्रममा उनको नेतृत्वदायी भूमिका, विनम्रता, र बिरामी तथा सहकर्मीहरूप्रतिको समर्पणलाई चिकित्सा अभ्यासको एक उत्कृष्ट मानकको रूपमा व्याख्या गरिएको छ।
डा. ओलीले यो सम्मान पाउँदा गहिरो कृतज्ञता व्यक्त गरेका छन्। 'यो केवल एउटा सम्मान मात्र नभएर थप जिम्मेवारी पनि हो। यसले मलाई सहानुभूति, इमानदारी र उत्कृष्टताका साथ निरन्तर सेवामा लाग्न थप उर्जा र प्रतिबद्धता प्रदान गरेको छ,' उनले भने।
डा. ओलीसँगै डा. केभिन किस्ट, डा. लियाना लाइन, डा. गंगा रानासुरिया र डा. युजिन मुचनिक पनि सम्मानित भएका छन्।