काठमाडौं — विश्वभर आज १९औं विश्व अटिजम सचेतना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघले सन् २००८ अप्रिल २ मा यो दिवस घोषणा गरेपछि हरेक वर्ष अटिजमबारे सचेतना फैलाउने, बुझाइ अभिवृद्धि गर्ने र अटिजम भएका व्यक्तिहरूको क्षमता उजागर गर्ने उद्देश्यका साथ मनाउने परम्परा रहँदै आएको छ।
यस वर्षको नारा “Celebrate Difference, Autism and Humanity – Every Life Has Value” राखिएको छ। अटिजम भएका व्यक्तिहरूका चुनौती मात्र नभई उनीहरूको सिप, कला र दक्षतालाई समाजमा चिनाउने लक्ष्यका साथ दिवस मनाइँदै आएको छ। विकसित देशहरूमा सरकारी स्तरबाटै यसलाई विशेष प्राथमिकता दिइने गरिएको छ।
तथ्यांकअनुसार अटिजमको अवस्था विश्वभर बढ्दो चिन्ताको विषय बनेको छ। सन् २०२५ मा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) को अध्ययनले हरेक ३१ मध्ये एक बच्चामा अटिजम देखिने जनाएको छ। विशेषज्ञहरूका अनुसार बाल्यकालमै उचित हस्तक्षेप र तालिम उपलब्ध गराउन सके अटिजम भएका बालबालिकालाई भविष्यमा आत्मनिर्भर र क्रियाशील जीवनतर्फ उन्मुख गराउन सकिन्छ।
अटिजमलाई मस्तिष्कको विविधता (न्यूरोडाइभर्जेन्ट अवस्था) का रूपमा बुझिन्छ। यस अवस्थामा रहेका व्यक्तिहरूलाई उनीहरूको क्षमताअनुसार तालिम, मार्गदर्शन र रोजगारीमा समावेश गरिनुपर्ने आवश्यकता औंल्याइएको छ।
यसै सन्दर्भमा अटिजम केयर नेपाल सोसाइटी (एसीएनएस) ले पनि विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइरहेको छ। सन् २००८ मा स्थापना भएको यस संस्थाले विगतदेखि नै राष्ट्रिय स्तरमा सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ।
यस वर्ष एसीएनएसले टक शो, सडक नाटक, अभिभावक तथा शिक्षकका लागि तालिम, निलो बत्ती बाल्ने कार्यक्रम लगायत गतिविधि सञ्चालन गर्ने भएको छ। ललितपुरको जावलाखेलस्थित ललित मण्डप प्राङ्गणमा अभिभावक, अटिजम भएका व्यक्तिहरू, विशेषज्ञ, समाजसेवी तथा सरकारी प्रतिनिधिको सहभागिता रहनेगरी विशेष कार्यक्रम आयोजना गरिएको बताइएको छ। कार्यक्रममा अटिजम भएका व्यक्तिहरूको कला प्रदर्शनी, प्रस्तुति, फ्ल्यास मोब लगायत आकर्षण रहेका छन्।
विशेषगरी यस वर्ष अटिजम भएका व्यक्तिहरूका दाजुभाइ तथा दिदीबहिनी (सिब्लिङ) को भूमिका, चुनौती र अनुभवलाई उजागर गर्न पोडकास्ट लगायत कार्यक्रममार्फत समाजमा बहस ल्याउने प्रयास गरिएको संस्थाले जनाएको छ।
विशेषज्ञहरूका अनुसार अटिजम जीवनभर रहने अवस्था हो र उमेरसँगै आवश्यक सेवा तथा सहयोगको प्रकृति परिवर्तन हुँदै जान्छ। उपयुक्त तालिम र अवसर पाए अटिजम भएका व्यक्तिहरूले समाजमा महत्वपूर्ण योगदान दिन सक्ने भएकाले उनीहरूको क्षमता पहिचान र स्वीकार्यता आवश्यक रहेको जोड दिइएको छ।
अटिजमलाई केवल चिन्ने मात्र नभई गहिरो रूपमा बुझेर स्वीकार गर्ने हो भने समावेशी र सकारात्मक समाज निर्माण सम्भव हुने सरोकारवालाहरूको भनाइ छ।