चरीकोट, दोलखा- दोलखाको बिगु गाउँपालिका–६, आलम्पुस्थित श्री थम्पु माध्यमिक विद्यालयमा विद्यार्थीहरूको एकीकृत स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय दोलखाको आयोजना, बिगु गाउँपालिका स्वास्थ्य शाखा र विद्यालयको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
विज्ञ टोलीद्वारा स्वास्थ्य परीक्षण मंगलबार सम्पन्न शिविरमा पशुपति चौलागाईं स्मृति अस्पताल, धुलिखेल अस्पताल/दोलखा अस्पताल र दोलखा लायन्स आँखा केन्द्रका प्राविधिकहरूले सेवा प्रदान गरेका थिए। शिविरमा १५५ जना विद्यार्थीहरूको श्रवण, दृष्टि, दन्त र बाथ/मुटु रोग सम्बन्धी विशेष स्क्रिनिङ गरिएको थियो। साथै, १४७ जना विद्यार्थीको रक्त समूह समेत पहिचान गरिएको आयोजकले जनाएको छ।
परीक्षण टोलीमा पशुपति चौलागाईं स्मृति अस्पतालका मेडिकल डाइरेक्टर डा. अच्युत पौडेल, डा. दिवाशा अधिकारी, धुलिखेल अस्पतालका मेडिकल डाइरेक्टर डा. बिराट आचार्य, वरिष्ठ नेत्र सहायक विप्लव खड्का, वरिष्ठ ल्याब प्राविधिक शंकर पोखरेल र डेन्टल हाइजिनिस्ट मिङमार लामा सहभागी थिए।
बिरामी विद्यार्थीको उपचार र रेफर परीक्षणका क्रममा ५ जना विद्यार्थीमा बाथ/मुटु रोगको आशङ्का देखिएपछि थप उपचारका लागि चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा रेफर गरिएको छ। ती विद्यार्थीको उपचार अस्पतालले नै गर्ने जनाइएको छ। यस्तै, दन्त समस्या देखिएका ११ जनालाई उपचारका लागि पठाइएको छ भने आँखामा समस्या देखिएका ११ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिने भएको छ।
स्वास्थ्य पहुँच र सचेतना जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख डिलेन्द्र बुढा मगरले यस्ता शिविरले दुर्गम क्षेत्रका बालबालिकालाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने बताए। यस्तै, जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले विद्यालयस्तरमै गरिने परीक्षणले समयमै रोग पहिचान भई भविष्यमा आइपर्ने गम्भीर समस्याबाट जोगिन मद्दत पुग्ने उल्लेख गरे।
कार्यक्रममा जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरे, जनस्वास्थ्य अधिकृतद्वय सोना श्रेष्ठ र उरुशा शाक्यले व्यवस्थापनमा सहयोग गरेका थिए।
शिविरमा बिगु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रत्नबहादुर थामी, उपप्रमुख गोमा आले मगर र विद्यालयका प्रधानाध्यापक तुलसी थामीको सक्रिय उपस्थिति रहेको थियो।
विद्यालयमै विशेषज्ञ डाक्टरहरूबाट स्वास्थ्य जाँच गराउन पाउँदा विद्यार्थी र अभिभावकहरूले खुसी व्यक्त गरेका छन्।