काठमाडौं- कैलाली क्षेत्र नं. ५ बाट निर्वाचित सांसद डा. आनन्दबहादुर चन्दले थारु समुदायमा बढी देखिने सिकलसेल, थालासेमिया जस्ता रगतसम्बन्धी रोगहरूको रोकथाम र उपचारका विषयमा विशेषज्ञ चिकित्सकहरूसँग छलफल गरेका छन्।
यसअघि उनले मंगलबार प्रधानमन्त्री बालेन शाहसँगको भेटमा समेत यी रोगहरूको रोकथाम तथा उपचारबारे ध्यानाकर्षण गराएका थिए।
सांसद डा. चन्द, रास्वपा नेताद्वय लक्ष्मण थारु र प्रकाश बिष्टसहितको टोलीले नेपालकै पहिलो वंशाणुगत तथा अनुवांशिक रोग विशेषज्ञ डा. निलम ठाकुर, रगत रोग विशेषज्ञ डा. नीरज सिंहलगायत विशेषज्ञ डाक्टरहरूसँग छलफल गरेका हुन्।
कैलाली क्षेत्र नं. ५ मा थारु समुदायको ठूलो जनसंख्या बसोबास गर्दछ। उनीहरूमा सिकलसेल तथा थालासेमिया जस्ता रगतसम्बन्धी रोगहरू बढी देखिएको छ। चुनावी अभियानमा डा. चन्दले यसको रोकथाम तथा उपचारलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए। सोही अनुसार उनले विशेषज्ञ चिकित्सकहरूसँग छलफल गरेका हुन्।
छलफलमा चिकित्सकहरूले रोगबारे जानकारी दिनुका साथै सरकारको हालको नीति र अब गर्नुपर्ने कामबारे बताएका थिए। डा. ठाकुरले थारु समुदाय बाहेक अन्य समुदायमा पनि विस्तारै यो रोग देखिन थालेको भन्दै यसको न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायबारे बताएकी थिइन्। डा. सिंहले सिकलसेल तथा थालासेमिया रोगको उपचार तथा रोकथाममा आफूले विगतमा गरेको कामको अनुभव र आगामी दिनमा गर्नुपर्ने कार्यबारे जानकारी दिएका थिए।
डा. चन्दले आफ्नो क्षेत्रका नागरिकहरूमा सिकलसेलको जोखिम तथा समस्या बढ्दै गएको उल्लेख गर्दै त्यसको न्यूनीकरण तथा रोकथामका लागि प्रयास सुरु गरिएको बताए। उनले कैलालीको थारु बाहुल क्षेत्रमा मास स्क्रिनिङ तथा रोकथामका अन्य उपायहरू अघि बढाउने बताए। उपचारका लागि सहज व्यवस्था गर्न राज्यको ध्यानाकर्षण गराइसकेको र त्यसका लागि प्राविधिक पक्षबारे समेत छलफल भएको उनले जानकारी दिए।