काठमाडौं- गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको सुरुमा अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने र मन्त्रिपरिषद गठन सम्बन्धी जानकारी दिने छन् । संघीय संसद्अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा) को बैठक भने संघीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ ।
बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको छ ।
संघीय संसद् सचिवालयका अनुसार आज रास्वपा सभापति रवि लामिछाने, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र राप्रपाबाट ज्ञानबहादुर शाहीले सम्बोधन गर्नेछन्। कांग्रेसका तर्फबाट सम्बोधन गर्ने नेताको नाम अझै टुंगो लागेको छैन।
आजको बैठकमा तीन अध्यादेश पेस हुँदैछन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
आजकै बैठकबाट सभामुख निर्वाचन तालिका सार्वजनिक हुनेछ । बुधबार बसेको सर्वदलीय बैठकमा चैत २२ गते सभामुखको निर्वाचन हुने तालिकामा सहमति जुटेको थियो ।
सोही सहमति बमोजिम सभाका ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्ने छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ ।