एआई तस्विर
काठमाडौं- जेनजी आन्दोलनका क्रममा घाइते भएकी विद्यार्थी एकता शाहलाई अतिरिक्त छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ। चिकित्सा शिक्षा आयोग को २४ औँ बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थितिमा उक्त निर्णय गरेकझ हो।
बैठकको निर्णयअनुसार, २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकी सुनसरीको वर्ज गाउँपालिका–६ निवासी एकता शाहलाई अतिरिक्त छात्रवृत्ति कोटामा एमबिबिएस अध्ययनको अवसर प्रदान गरिने भएको छ।
उहाँ चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित शैक्षिक वर्ष २०८२। ८३ को प्रवेश परीक्षामा ५७.५ अंक प्राप्त गरी ७६४० औँ स्थानमा उत्तीर्ण भएकी थिइन्। यसअघि नेपाल सरकार मन्त्रिपरिषद् ले २०८२ चैत १ गते नै उक्त निर्णय गरिसकेको थियो। सो निर्णय कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ३ गते पत्राचार गर्दै अतिरिक्त छात्रवृत्तिबापतको खर्च चालु आर्थिक वर्षको बजेटबाट व्यवस्थापन गरिने जानकारी दिएको छ। अर्थ मन्त्रालय ले पनि आवश्यक खर्च व्यवस्थापनका लागि सहमति प्रदान गरिसकेको छ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ तथा नियमावली २०७७ अनुसार शिक्षण संस्थाहरूको सिट निर्धारण आयोगको अधिकार क्षेत्रभित्र पर्ने भएकाले उक्त निर्णय कार्यान्वयनका लागि आयोगको कार्यकारी समितिबाट सिफारिस भई बैठकमा प्रस्ताव पेश गरिएको हो।