काठमाडौं- पूर्वराजकुमार पारस शाह नर्भिक अस्पताल भर्ना भएका छन्। मुटुको चालमा गडबडी भएपछि उनी अस्पताल भर्ना भएका हुन्।
नर्भिक अस्पताल मा भर्ना भएका शाहको उपचार डा यादवदेव भट्टको नेतृत्वमा रहेको चिकित्सक टोलीले गरेको बताइएको छ। शाहको मुटुमा राखिएको पेसमेकर जस्तै उपकरण इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) को ब्याट्री परिवर्तन गरिएको हो।
'उहाँ आज बिहान ८ बजे अस्पताल आउनुभएको थियो । बिहान साढे ९ बजे आईसीडीको ब्याट्री फेरिएको हो,' डा भट्टले भने, 'उहाँलाई नर्भिकमा भर्ना भएरै उपचारत हुनुहुन्छ।'
शाहलाई केही दिन अस्पतालमै राखिने उपचारमा संलग्न डा यादव भट्टले जानकारी दिए।
पारसको मुटुको चालमा गडबडी भएपछि पहिलानै आईसीडी राखिएको थियो। उक्त आईसीडीको ब्याट्री परिवर्तन गर्नुपर्ने समय भएकाले अस्पताल ल्याइएको पारस निकट स्रोतले जानकारी दियो।
आईसीडी मुटुको चाल अत्यधिक छिटो वा खतरनाक रूपमा अनियमित हुँदा प्रयोग हुन्छ। यो पेसमेकरजस्तै मुटुसँग सम्बन्धित उपचारमा प्रयोग हुने यन्त्र हो। तर पेसमेकर नै भन्न भने मिल्दैन।
पेसमेकर भनेको मुटुको चाल नियन्त्रण गर्न प्रयोग गरिने एक कृतिम यन्त्र हो। विभिन्न कारणले मुटुको धड्कन कम हुँदा वा आवश्यक दरमा चाल उत्पादन गर्न नसक्दा बिरामीमा रिगाँटा लाग्नेदेखि बेहोस हुनेसम्मका समस्या देखिन सक्छन्। यस्तो अवस्थामा मुटुलाई आवश्यक चाल दिन पेसमेकर प्रयोग गरिन्छ।
सामान्यतया पेसमेकरको ब्याट्री कम्तिमा ७ देखि ८ वर्षसम्म टिक्ने चिकित्सकहरू बताउँछन्।
*हेडलाइनमा र समाचारमा आईसीडीको विषय थप गरिएको