काठमाडौं- दीपक कुमार साह विरुद्ध ९ वर्षअघि नै अदालतबाट सफाइ पाएको एक पुरानो मुद्दाबारे सामाजिक सञ्जालमा पुनः चर्चा सुरु भएको छ। साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्त भएसँगै उक्त विषयलाई लिएर टिप्पणी हुन थालेको हो।
महोत्तरी–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित साहलाई हालै मन्त्रिपरिषद् गठन हुँदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रूपमा नियुक्त गरिएको थियो।
के थियो घटना?
एमबीबीएस परीक्षा पास गराइदिने भन्दै ठगी गरेको आरोपमा तत्कालीन वर्ल्ड वाइड कन्सल्टेन्सीका सञ्चालक साह र सिन्धुलीका गणेश अधिकारीलाई प्रहरीले २०७३ असोज १६ गते पक्राउ गरेको थियो।
प्रहरीका अनुसार काठमाडौँ नागार्जुन–२ बस्ने सायसा पन्तलाई विभिन्न डाक्टरसँग चिनजान रहेको भन्दै एमबीबीएस परीक्षामा पास गराइदिने प्रलोभन देखाएर उनका अभिभावकसँग दुई लाख रुपैयाँ लिने सहमति गरिएको थियो। पन्तका तर्फबाट महानगरीय अपराध महाशाखामा ठगीको जाहेरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।
अदालतबाट सफाइ
ठगी आरोपमा पक्राउ परेका साह र अधिकारीविरुद्ध २०७३ कात्तिक ३ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको थियो। तर २०७३ मंसिर १० मा काठमाडौँ जिल्ला अदालतले दाबी नपुग्ने भन्दै दुवै जनालाई सफाइ दिएको थियो।
जिल्ला अदालतको उक्त फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन दिए पनि उच्च अदालत पाटनले २०७४ असार ३ गते जिल्ला अदालतकै फैसला सदर गरेको थियो। यससँगै साहले उक्त ठगी मुद्दामा करिब ९ वर्षअघि नै कानुनी रूपमा सफाइ पाइसकेको देखिन्छ।