काठमाडौं- वेब ट्रेडिङ कन्सर्न प्रा. लि. ले आफ्नो स्थापना भएको २५ वर्ष (रजत जयन्ती) विशेष समारोहका साथ मनाएको छ। राजधानीको होटेल मेरियटमा भव्य कार्यक्रम गरी रजत जयन्ती मनाइएको हो।
सन् २००१ मा स्थापना भएको वेब ट्रेडिङ कन्सर्न प्रा. लि.ले विगत दुई दशकभन्दा बढी समयदेखि नेपालको स्वास्थ्य सेवा क्षेत्रमा समर्पित रूपमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले इन–भिट्रो डायग्नोस्टिक्स, डिसइन्फेक्सन तथा स्टेरिलाइजेशन, डर्माटोलोजी तथा एस्थेटिक केयर, साथै मेडिकल एवं क्रिटिकल केयर क्षेत्रमा आधुनिक प्रविधिमार्फत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
सीएसआर अन्तर्गत २५ लाख प्रदान
रजत जयन्तीको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काभ्रेको पनौती–११ मा अवस्थित “सावित्री देवी स्मृति प्रतिष्ठान” लाई २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। शिक्षा तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील उक्त संस्थालाई प्रदान गरिएको सहयोगले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

यस अवसरमा निरन्तर सहकार्यका लागि गण्डकी मेडिकल कलेज (पोखरा), न्युरो कार्डियो एण्ड मल्टिस्पेशालिटी अस्पताल (विराटनगर) तथा नेशनल रेफरेन्स ल्याबोरेटरीलाई विशेष सम्मान प्रदान गरिएको छ। त्यसैगरी, दीर्घकालीन समर्पित सेवाको कदरस्वरूप “दीर्घनिष्ठ–सेवा–सम्मान” अन्तर्गत धुलिखेल अस्पतालमा करिब दुई दशकदेखि सेवा गर्दै आएकी रिता शाहीलाई सम्मान गरिएको छ। साथै कम्पनीका कर्मचारीहरू टेक बहादुर लो, सानुकाजी था तथा सृजना व्यञ्जनकारलाई पनि दीर्घकालीन योगदानका लागि सम्मान गरिएको छ। त्यस्तै उमङ्ग लामिछानेलाई ग्रोथ एण्ड रेजिलिएन्स अवार्ड २०८२, शिवम पौडेललाई पर्फर्मर अफ द इयर २०८२, सुजन कार्कीलाई इम्प्लोइ अफ द इयर २०८२ र अविरल दुलाललाई इमर्जिङ इम्प्लोइ अवार्ड प्रदान गरिएको छ।




नयाँ प्रविधि ‘आइडिला’को अनावरण
रजत जयन्ती समारोहकै अवसरमा कम्पनीले बेल्जियमस्थित मोलिक्युलर डायग्नोस्टिक कम्पनी बायोकार्टिसद्वारा विकसित क्यान्सर डाइग्नोस्टिक सम्बन्धी नवीनतम प्रविधि ‘आइडिला’ नेपालमा भित्र्याएको जनाएको छ।
समारोहका क्रममा प्रा. डा. ईश्वरलाल श्रेष्ठले ‘आइडिला’ मेसिनको औपचारिक अनावरण गरेका थिए। ‘आइडिला’ प्रविधि क्यान्सर उपचार क्षेत्रमा “प्रिसिजन अन्कोलोजी”लाई नयाँ उचाइमा पुर्याउने अत्याधुनिक समाधानका रूपमा लिइएको छ।
पूर्ण रूपमा स्वचालित र रियल–टाइम पीसीआरमा आधारित उक्त प्रणालीले बिरामीको नमुनाबाट छिटो तथा विश्वसनीय नतिजा प्रदान गर्ने क्षमता राख्छ। यसले चिकित्सकलाई सही समयमा उचित उपचार निर्णय लिन सहयोग पुर्याउने कम्पनीले जनाएको छ। पारम्परिक परीक्षण विधिको तुलनामा कम समय, न्यून मानव संलग्नता र उच्च गुणस्तर सुनिश्चित गर्ने भएकाले क्यान्सर निदान तथा उपचार व्यवस्थापन अझ प्रभावकारी बन्ने विश्वास गरिएको छ।

रजत जयन्तीको अवसरमा कम्पनीका संस्थापक तथा निर्देशक रामइन्द्र न्यौपाने ले कम्पनीप्रति विश्वास, सहयोग र साथ प्रदान गर्ने सम्पूर्ण ग्राहक, साझेदार तथा कर्मचारीहरूप्रति आभार व्यक्त गरे। उनले आगामि दिनहरूमा पनि नवीन प्रविधि र गुणस्तरीय सेवामार्फत नेपालको स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
समारोहमा विभिन्न देशका व्यावसायिक साझेदार, राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा निजी स्वास्थ्य संस्थाका अधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अतिथिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, डा. ज्ञानेन्द्रमान सिंह कार्की, डा. रामाकण्ठ माकाजु श्रेष्ठ तथा डा. प्रदीप ज्ञवाली लगायतले कम्पनीको स्वास्थ्य क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए।

