काठमाडौं- कुनै समय कोभिड–१९ महामारीको संकटमा ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेर विवादमा आएका व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन्। शंकर ग्रुपका सञ्चालक एवं जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको विभागले जनाएको छ। विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार अग्रवाललाई बयानका लागि बोलाइएको र सोही क्रममा नियन्त्रणमा लिइएको हो।
सुलभ अग्रवाल यसअघि २०७६ सालमा मुलुक कोरोना महामारीसँग जुधिरहेका बेला स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए। ५ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँसम्ममा बेच्न खोज्दा उनी कूटनीतिक नियोगको सवारी साधनसहित रंगेहात समातिएका थिए।
त्यसबेला चीनबाट स्वास्थ्य सामग्री ल्याउँदा 'सेटिङ' गरेर अन्य व्यवसायीको सामान रोकी आफ्नो समूहको सामान मात्र ल्याएको र बजारमा कृत्रिम अभाव सिर्जना गरेको विषयमा स्वास्थ्यखबरले निरन्तर आवाज उठाएको थियो। थर्मल गन प्रकरणमा केही समय हिरासतमा बसेका उनी पछि धरौटीमा छुटेका थिए।
यसअघि शुक्रबार नै विभागले सुलभका बुबा एवं शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पनि नियन्त्रणमा लिएको थियो। विवादित व्यवसायी दीपक भट्ट पक्राउ परेसँगै विभागले उनीसँगको शंकास्पद आर्थिक कारोबार र सम्पत्ति शुद्धीकरणको आशंकामा अग्रवाल परिवारमाथि अनुसन्धान तीव्र पारेको हो।