काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूको सूचीकरण प्रक्रिया अघि बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै इच्छुक स्वास्थ्य संस्थाहरूलाई सूचीकरणका लागि १० दिनभित्र निवेदन पेश गर्न आह्वान गरेको हो।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाबाट अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने कानुनी व्यवस्था छ। सोही व्यवस्थाको कार्यान्वयनका लागि मन्त्रालयले २०८२ चैत १७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार नयाँ संस्था सूचीकरणको प्रक्रिया थालेको हो।
यस पटकको सूचनामा सरकारी स्वामित्वमा रहेका स्वास्थ्य संस्थाहरूलाई पनि वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण गर्न बाधा नपुग्ने गरी विशेष व्यवस्था गरिएको छ। निजी र सरकारी दुवै क्षेत्रका अस्पताल वा स्वास्थ्य संस्थाहरूले 'स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२' को मापदण्ड पूरा गरी निवेदन दिन सक्नेछन्।
मन्त्रालयका अनुसार निवेदन दिने समयसम्म कम्तीमा छ महिना सञ्चालन भएको र कम्तीमा तीन हजार जना बिरामीको परीक्षण गरिसकेको प्रमाणित कागजात भएका संस्थाहरू मात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन्।
सरकारी र निजी स्वास्थ्य संस्थाहरूका लागि निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू फरक-फरक तोकिएका छन्। इच्छुक संस्थाहरूले मन्त्रालयले तोकेको ढाँचामा सूचना प्रकाशित भएकोले १० दिनभित्र आफ्ना विवरण र नोटरी पब्लिकबाट प्रमाणित कागजातहरू बुझाउनुपर्नेछ।
निजी स्वास्थ्य संस्थाका लागि आवश्यक कागजातहरू (नोटरी प्रमाणित):
• स्वास्थ्य मन्त्रालयबाट प्राप्त सञ्चालन स्वीकृति प्रमाणपत्र।
• सञ्चालकको नागरिकता, संस्था दर्ता र स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्र।
• संस्थाको प्रबन्धपत्र, नियमावली र अघिल्लो आवको लेखापरीक्षण तथा कर चुक्ता प्रमाणपत्र।
• संस्थाको नाम, ठेगाना, इमेल, फोन र सञ्चालकको मोबाइल नम्बर खुलेको पत्र।
• जनशक्तिको विवरण (प्याथोलोजिष्ट, नर्स, रेडियोलोजिष्ट, जनरल मेडिकल डाक्टर आदि)।
• घर भाडामा भए कम्तीमा दुई वर्षको सम्झौता पत्र।
• कम्तीमा ६ महिना सञ्चालन भएको र ३००० बिरामी परीक्षण गरेको प्रमाणित कागजात।
• कार्यविधिको अनुसूची-१ का मापदण्ड पूरा गरेको स्वघोषणा पत्र र सञ्चालक समितिको निर्णय।
सरकारी स्वामित्वको स्वास्थ्य संस्थाका लागि आवश्यक कागजातहरू:
• स्वास्थ्य मन्त्रालयबाट प्राप्त सञ्चालन स्वीकृति प्रमाणपत्र।
• संस्थाको नाम, ठेगाना, इमेल, फोन र अस्पताल सञ्चालक समितिको निर्णय।
• निवेदन दिने समयसम्म कम्तीमा छ महिना सञ्चालन भएको र ३००० बिरामी परीक्षण गरेको प्रमाणित कागजात।
• अनुसूची-१ बमोजिमको मापदण्ड पूरा गरेको स्वघोषणा पत्र।