काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इन्टर्न नर्स तथा अन्य श्रमिकलाई न्यूनतम पारिश्रमिकसहित सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउन सबै रोजगारदातालाई परिपत्र जारी गरेको छ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार श्रम ऐन, २०७४ को दफा १८ उपदफा (३) मा तालिमीका रूपमा काममा लगाइएका व्यक्तिलाई समेत कम्तीमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष र बीमा लगायतका सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था रहेको छ।
मन्त्रालयका अनुसार विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत इन्टर्न नर्स तथा स्वास्थ्यकर्मी, निजी तथा संस्थागत विद्यालयका शिक्षक–कर्मचारी लगायतले तोकिएको न्यूनतम पारिश्रमिक र अन्य सुविधा नपाएको गुनासो प्राप्त भएपछि यस विषयमा गम्भीर ध्यानाकर्षण भएको हो।
परिपत्रमार्फत मन्त्रालयले सबै रोजगारदातालाई प्रचलित कानुनअनुसार न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुविधा पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ। साथै, कानुन विपरीत श्रमिकलाई सुविधा नदिएको पाइएमा सम्बन्धित निकायमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।
