काठमाडौं- नेपाल चिकित्सक संघले सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णयको स्वागत गरेको छ।
संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल सरकार मन्त्रीपरिषद्को चैत २२ गतेको बैठकले गरेको उक्त निर्णय सकारात्मक भएको उल्लेख गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पनि यसलाई कार्यान्वयन गर्न आग्रह गरेको छ।
विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय अभ्यासअनुसार हप्तामा दुई दिन बिदा दिने प्रचलन रहेको र अन्तर्राष्ट्रिय श्रम संगठन ले हप्तामा ४२ घण्टा कार्यसमय तोके पनि नेपालका स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू २४ देखि ७२ घण्टासम्म लगातार काम गर्न बाध्य रहेको जनाइएको छ।
संघले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई शारीरिक तथा मानसिक तनाव व्यवस्थापनका लागि पर्याप्त आराम आवश्यक पर्ने औंल्याउँदै अन्य पेशाकर्मीसरह उनीहरूलाई पनि बिदा सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि कार्यकौशलता सुदृढ बनाउन आराम अपरिहार्य रहेको निष्कर्ष निकाल्दै संघले उक्त सरकारी निर्णय चिकित्सक तथा स्वास्थ्यकर्मीका हकमा समेत कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ।
संघका महासचिव डा. सन्जीब तिवारीले विज्ञप्ति जारी गर्दै सरोकारवाला निकायलाई यस विषयमा गम्भीर हुन अपिल गरेका छन्।