काठङ्गाडौं – चिकित्सा क्षेत्रको विश्वप्रसिद्ध एवं ‘गोल्ड स्ट्यान्डर्ड’ मानिने पाठ्यपुस्तक Robbins and Cotran Pathologic Basis of Disease (१०औं संस्करण) मा एउटा महत्त्वपूर्ण त्रुटि भएको पत्ता लगाएका छन्। लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा दोस्रो वर्षमा अध्ययनरत एमबीबीएस विद्यार्थीले सम्पादकहरूलाई पत्र लेखेका हुन्।
न्यान्सी लामिछाने र प्रियंका भट्टराई ले पुस्तकको पृष्ठ ५६७, तालिका १२.११ मा ‘सार्कोइडोसिस’ (Sarcoidosis) लाई ‘डाइलेटेड कार्डियोमायोप्याथी’ (Dilated Cardiomyopathy) को कारण देखाइएकोमा यो त्रुटिपूर्ण रहेको औंल्याएका हुन्।
उनीहरूका अनुसार, सार्कोइडोसिस वास्तवमा ‘रेस्ट्रिक्टिभ कार्डियोमायोप्याथी’ (Restrictive Cardiomyopathy) को कारण हो, किनभने यस रोगमा मुटुको मांसपेशीमा ग्र्यानुलोमाको प्रवेश हुन्छ, जसले फाइब्रोसिस (तन्तु कठोर हुने) र मुटुलाई कडा बनाउँछ। यो प्रक्रिया ‘इन्फिल्ट्रेटिभ कार्डियोमायोप्याथी’ अन्तर्गत आउँछ, जुन रेस्ट्रिक्टिभ कार्डियोमायोप्याथीकै एक उपप्रकार हो।
उनीहरूले आफ्नो दाबीलाई युरोपेली हार्ट जर्नल (European Heart Journal) लगायतका प्रमाणिक स्रोतहरूसँग पुष्टि गरेका छन्। उनीहरूले पुस्तककै अर्को स्थान (टेक्स्ट) मा भने सार्कोइडोसिसलाई रेस्ट्रिक्टिभ कार्डियोमायोप्याथीको उदाहरण दिइएको तथ्य पनि औंल्याउँदै पुस्तकभित्रै विरोधाभास रहेको स्पष्ट पारेका छन्।
यो पत्र पुस्तकका प्रतिष्ठित सम्पादकहरू डा. विनय कुमार, डा. अबुल के. अब्बास, डा. जोन सी. एस्टर (Elsevier Publication) लाई पठाइएको थियो। जवाफमा डा. विनय कुमारले पत्र लेख्दै दुवै विद्यार्थीको प्रशंसा गरेका छन् र त्रुटि स्वीकारेका छन् । उनले भनेका छन्, 'तालिकामा सार्कोइडोसिसलाई ‘डाइलेटेड कार्डियोमायोप्याथी’ अन्तर्गत राख्नु वास्तवमा भ्रामक रहेको छ। उनले आगामी (११औं) संस्करणमा यो त्रुटि सच्याइने छ।'
लामिछाने र भट्टराईले आफ्नो यो सानो तर महत्त्वपूर्ण योगदान चिकित्सा शिक्षाप्रतिको समर्पण र विवेकशीलताको उदाहरण भएको बताएका छन्। उनीहरूले विश्वभरि चिकित्सकको ‘बाइबल’ मानिने रोबिन्स पुस्तकमा आफूले त्रुटि औंल्याउन पाउँदा गर्व लागेको र यसले अन्य विद्यार्थीहरूलाई पनि पाठ्यसामग्रीलाई प्रश्न गर्ने हिम्मत दिने विश्वास व्यक्त गरेका छन्।
लुम्बिनी मेडिकल कलेजका प्रशासनले पनि यी दुई विद्यार्थीको उपलब्धिलाई सराहना गर्दै नेपाली चिकित्सा क्षेत्रका लागि गौरवको विषय भएको जनाएको छ।
